काठमाडौँ: असहाय गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउन गाईको गोबर र गहुँतबाट बनेको कम्पोष्ट मल थप गुणस्तरीय बनाएर वितरण सुरु भएको छ ।
नयाँ प्रविधिसहित गुणस्तर वृद्धि गरिएको कम्पोष्ट मल पुन ः वितरण प्रारम्भ गरिएको असहाय गाईबाच्छा संरक्षण अभियानले जनाएको छ ।
अभियानले पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा उपलब्ध गराएको करिब १०० रोपनी जग्गामा करिब २०० असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ ।
तिनै गाईबाच्छाको मलमूत्र उपयोग गरी कम्पोष्ट मल बनाइएको हो । शतप्रतिशत गाईबाच्छाको गोबरबाट गोमूत्रलाई प्रयोग गरी अर्गानिक माध्यमबाट कुहाउँदै कम्पोष्ट मल तयार पारिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिए।
कम्पोष्ट मल बिक्रीबाट आउने सबै रकम असहाय गाईबाच्छाको संरक्षणमा प्रयोग गरिने पनि उनले बताए । यसअघि विभिन्न व्यक्तिले मल उपलब्ध गराउन आग्रह गर्दागर्दै मलको गुणस्तर वृद्धिका लागि केही समय लागेकाले आजैदेखि फेरि मल वितरणको व्यवस्था मिलाइएको अभियानले जनाएको छ ।
गुणस्तर वृद्धिका लागि केही समय सेवा उपलब्ध गराउन नसकिएकोमा अभियानले माफी मागेको छ । मलको गुणस्तर राम्रो र मूल्य चलनचल्तीको बजार भाउभन्दा झण्डै आधा कम रहेको छ । गाईबाच्छा संरक्षणस्थलमै मल लिन गए प्रतिकेजी रु १५ मूल्य तोकिएको छ ।
घरसम्म लगिदिने व्यवस्थाका लागि प्रतिकेजी रु २० मूल्य कायम गरिएको छ । घरमै मल मगाउन कम्तीमा २५ केजीको माग हुनुपर्ने जनाइएको छ ।
कम्पोष्ट मल माग गरेको लामो समयसम्म पनि पाउन नसकिएको गुनासो ग्राहकले गरेका छन् । अभियानले भने आजदेखि मागको १२ घण्टाभित्रमा मल घरमै लैजाने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।रासस