बागलुङ: बागलुङमा वीरेन्द्र ऐश्वर्य (उद्यान) पार्कको नाउँमा चिनिएको समीक्षालय पार्कलाई व्यवस्थित बनाइने भएको छ । झण्डै १४ वर्षदेखि अलपत्र सो पार्क अब व्यवस्थापन गरेर नयाँ बनाउन लागिएको हो ।
बागलुङ नगरपालिकाले यो पार्कलाई व्यवस्थित बनाएर नगरभित्रको आर्कषक गन्तव्य बनाउन लागेको नगरप्रुमख जनकराज पौडेलले बताए । त्यसका लागि नगरपालिकाले डिपिआर बनाइसकेको छ ।
चालू वर्षभित्रै काम सक्ने लक्ष्यसमेत राखेको पौडेलले जानकारी दिनुभयो । २०६२÷६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मूर्ति ढालेपछि यो पार्क बेथितिको रुपमा रहेको थियो । सरसफाइ नगर्ने, खुला र अव्यवस्थित बनाउदा फोहोर थियो ।
लागुऔषध प्रयोगकर्ताले फालेका सुईदेखि अन्य प्लास्टिकजन्य फोहरसमेत पार्कमा भेटिन्थ्यो । पछिल्लो समय केही फोहर कम भए पनि व्यवस्थापन थिएन । तर गतवर्ष पार्कको दक्षिण किनारामा रहेको ट्राफिक कार्यालय भत्काएपछि तत्काल पार्क व्यवस्थापन गर्ने योजना थियो ।
चालू वर्षको बजेटमा एए कन्स्ट्रक्सन प्रालिले रु ९६ लाखमा ठेक्का लिएर काम गरिरहेको हो । नगरपालिकाले व्यवस्थापनको काम गरेको छ । “पानी नजम्ने, आर्कषक र व्यवस्थित पार्क बन्नेछ”, इञ्जिनीयर मनोज शर्माले भने यो पार्कले नगरकै पहिचान झल्कने बनाउने योजना छ ।
पार्क व्यवस्थापन गरेपछि फूल रोप्ने, बस्ने स्थान र बजारकै गौरव गर्न लायक पार्क बन्ने वडा नं २ का अध्यक्ष जीवन आचार्यले बताए । “बाहिरबाट आएका मानिसले पनि यो पार्क हेरेर बागलुङको पहिचान बुझ्न सकुन् भन्ने लक्ष्य राखिएको छ ।
यो पार्क व्यवस्थित भयो भने प्रवेश शुल्क राखेपनि चलाउन सकिन्छ ।” यसअघिको मूर्ति फालेपछि खाल्डामा जमेको पानीसमेत दुर्गन्धित थियो । बालबालिका सहजै प्रवेश गरेर खेल्दा ती खाडलमा पर्ने जोखिमसमेत थियो । केही समय यहाँको छाप्रोमा वडा कार्यालयसमेत सञ्चालनमा आयो ।
अहिले वडा कार्यालय पुरानो जिविसको भवनमा सरेको छ । त्यसपछि उक्त छाप्रोमा एउटा तालिम हल बनाइएको छ । एकातर्फ ट्राफिक प्रहरीको अस्थायी कार्यालय राखिएको छ ।
तर व्यवस्थित पार्कसँगै शौचालय पनि राख्नुपर्ने स्थानीयवासीले बताए । “पार्क राम्रो बनाउने तयारी भएको रहेछ, तर सार्वजनिक शौचालय पनि बनाउन आवस्यक छ”, बानपा २ का व्यवसायी संजय श्रेष्ठले भने सवारी साधनको पार्किङ समेत व्यवस्थापन गर्न सकियो भने बागलुङ बजारको मुहार फेरिन्छ ।
अहिले पनि बजार क्षेत्रमा पार्किङ अभाव छ । दुइ वर्षदेखि साताको तीन÷तीन दिन सडकको दायाँ र बायाँ सवारी पार्किङ गराउने व्यवस्थापन गरिएको छ । रासस