वीरेन्द्रनगर : प्रेस काउन्सिलको वर्गीकरणमा परेका सुर्खेतका पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनबारे जानकारी दिइएको छ । हुलाक निर्देशनालय सुर्खेतको आयोजना एवं पत्रकार महासंघ सुर्खेतको समन्वयमा शुक्रबार भएको एक कार्यक्रममा लोक कल्याणकारी विज्ञापनका सम्वन्धमा जानकारी दिइएको हो ।
हुलाक निर्देशनालय सुर्खेतका सूचना अधिकारी हितप्रसाद पौडेलले पत्रिकामा लोककल्याणकारी विज्ञापनको आकार, बजेट र यसको भुक्तानी, भुक्तानी रोक्का हुने अवस्था, दामासाहीको भुक्तानी, कर कट्टी तथा कोष दाखिला तथा जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिबारे प्रकाश पारिन् ।
उनले पत्रपत्रिकाहरुले अगाडि पृष्ठको एयर प्यानलमा पाँच पटक र पछाडि पृष्टमा ८—१० सिसीको आधारमा पाँच पटक विज्ञापन प्रकाशित गर्नुपर्ने, प्रत्येक महिनाको ७ गतेभित्र बिलसहित पत्रिका हुलाकमा दर्ता गराउनुपर्ने, महिनामा कम्तीमा २५ अंक प्रकाशित हुनुपर्ने जस्तासुझाव दिईन् ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले वर्गीकरणमा परेका पत्रपत्रिकाहरुले राम्रोसँग कुरा नबुझदा समस्या आएको भन्दै हुलाक निर्देशनालयले कार्यक्रम राखेर लोककल्याणकारी विज्ञापनबारेको जानकारी उपलव्धीमूलक रहेको बताए ।
साथै बसेलले आगामी दिनमा पनि आइपर्ने समस्याहरूलाई एकैठाउँमा बसेर समाधान गर्न जोड दिए । पत्रकार महासंघका प्रदेश सचिव दिपक बुढाले स्थानीय संचारमाध्यमलाई विज्ञापन तथा ग्राहक बनाउनका लागि हुलाक निर्देशनालयले पहल र समन्वय गर्नुपर्ने बताए ।
महासंघका पूर्व अध्यक्ष श्रीधर पौड्यालले मोफसलका संचारमाध्यमहरुको पीडा हुलाक निर्देशनालयले बुझेर सोही अनुसार काम गरिदिनुपर्ने बताए ।