काठमाडौँः श्रीमद् भागवत् गीताका उपदेश मानिसको जीवनमा आवश्यक भएको प्रवचनसहित गीता प्रादुर्भाव जयन्ती मनाइएको छ । यस अवसरमा ‘जीयर एजुकेशन फाउन्डेसन’ले जुम प्रविधिबाट आयोजना गरेको उक्त कार्यक्रममा भारतको राजस्थान विश्वविद्यालयका प्रा. डा. पुरुषोत्तम नेपाल, स्वामी पद्धराचार्य, वैष्णव परिषद् नेपालका अध्यक्ष देवराज आचार्यलगायतले वर्तमान समयका धेरै समस्याको समाधान गीताले दिएको बताए । उनले गीता र यसका उपदेशका विषयमा पनि चर्चा गरेका थिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती देशभरका मठ मन्दिरमा मनाइएको छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम पनि आयोजना गरिएको छ ।
पाँच हजार १२९ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास छ । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन सबै आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता हो । गीताको ज्ञान मानवमात्रका लागि आवश्यक मानिन्छ । हालसम्म सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ विश्वमै गीता नै हो ।
यसैगरी विभिन्न मन्दिरमा गीता पाठ पारायण गरिएको थियो । चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक फाउन्डेसनले जनाएको छ ।
ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसकेका छन् । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ । रासस