कञ्चनपुर: पुनर्वास नगरपालिकामा विपन्न परिवारको खर हटाएर टिनको छाना राख्ने कार्य सुरु भएको छ ।
सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाभित्र रहेका विपन्न अवस्थाका १६८ परिवारको घरमा टिनको छाना राख्नका लागि छनोटको कार्य भइसकेको नगरप्रमुख जीवनराज थापाले बताए ।
छनोटमा परेका प्रतिपरिवारलाई रु ५० हजारका दरले अनुदान रकम दिने व्यवस्था गरिएको छ । पहिलो किस्ताका रुपमा ६० प्रतिशत रकम बैंक खातामार्फत उपलब्ध गराउछौं । दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम प्राविधिकको मूल्याङकन गरेपछि उपलव्ध हुन्छ ।
कार्यक्रम सञ्चालनका लागि अनुदान पाउने किसानसँग सम्झौताको कार्य गरिएको छ । अनुदान रकमका लागि घर पूरै खरको प्रयोग गरी बनाइएको छ भने त्यस्तो घरलाई पहिलो, छानामा खर र पर्खाल काठको बनाइएको छ भने दोस्रो र छानामा टायललगायतको प्रयोग गरिएको छ भने तेस्रो प्राथमिकतामा राखेर छनोट गरिएको छ ।
छनोटका मापदण्डअनुसार घरको प्राविधिक टोलीले मूल्याङ्कन गरी ५० बढी अङ्क ल्याएको हुुनुपर्दछ”, नगर प्रमुख थापाले भन्नुभयो,“५० बढी अङ्क ल्याउने घर अनुदान रकमका लागि योग्य मानिन्छन् । निर्धारित मापदण्डअनुसार विपन्न परिवारको घरकोस्तर हेरी छनोट गरेका छौं ।
खरको छाना हटाएर टिनको छाना राख्नका लागि छनोटमा परेकासँग सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामार्फत उपलव्ध गराउने तयारी भइरहेको उनले बताए । नगरमा बसोबास गर्ने बासिन्दाले झोपडीमा बस्नु नपरोस् भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
असुरक्षित घरमा बस्दा आगलागी भई क्षति व्यहोर्नु पर्ने र सर्प लगायतका विषालु कीराको टोकाइ बासिन्दा प्रभावित नहुन भन्नकै लागि खरको छाना हटाउने अभियान सञ्चान गरेका छौं । नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउने जनप्रतिनिधिको कर्तव्य अनुसार कार्य भइरहेको छ। रासस