सिमकोट : ग्रामीण बस्तीका धामी झाँक्रीलाई स्वास्थ्य सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । सामान्य बिरामी हुँदा पनि मानिसहरु स्वास्थ्य संस्थामा उपचार गर्न भन्दा पनि धामी बसाल्ने गर्न थालेपछि यसबारे जानकारी दिन धामी झाँक्रीसँगै राखेर अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा सहभागी ताँजाकोट गाउँपालिका – ५ कैलाश देउताका धामी कर्ण पसाद जैशीले अभिमुखीकरणबाट धामी बसाल्न आउने बिरामीलाई स्वास्थ्य संस्थामा गएर उपचार गर्न सुझाव दिन सहज भएको जानकारी दिए ।
यस कार्यबाट सामान्यदेखि जटिल खालका बिरामीहरु धामीकै भरमा पर्ने परम्परालाई बिदा दिन सहज हुने विश्वास गरिएको छ । मानिसहरु बिरामी हुने भनेको रोगबा हुने गरेको जानकारी प्राप्त भएको बताउँदै उनले धामीका रुपमा बिरामीका लागि बस्नु परे स्वास्थ्य संस्थामा जान सुझाव दिने जानकारी दिएका छन् ।
सदरमुकाम देखि ग्रामीण बस्तीहरुमा मानिसहरु बिरामी हुने बित्तिक्कै उपचारका लागि धामी बसाल्ने कार्यमा लाग्दै आएको कारण गाउँपालिकाको स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रम राखेको हो । अहिले पनि धेरै गाउँ बस्तीमा बिरामीहरु उपचारका लागि पहिलो प्राथमिकता धामी बसाल्ने कार्यमा लाग्दै आएका छन् । झारफुक गर्ने र कुखुरा, खसीको बली समेत दिन बिरामी र आफन्त तयार हुँदै आएका छन् ।
शाखाका स्वास्थ्यकर्मी धनराज ढकालले धामी झाँक्र र स्वास्थ्यकर्मीका बिच सम्बन्ध सुधार र सहकार्यका लागि स्वास्थ्य सम्वन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताएका छन् । यसमा उनले कार्यक्रममा सामान्यदेखि जटिल किसिमका रोगले बिरामीका बारेमा धामी झाक्रीलाई जानकारी गरिएको बताएका छन् । गाउँपालिकाका पाँच वटा वडा मध्ये चार वटाका धामी झाँक्रीको सहभागिता रहेको कार्यक्रममा टाउको, पेट दुखाइ, निमोनिया, झाडापखाला, ज्वरो आउने, गर्भवती, सुत्केरी, गानो जाने लगाएका रोगका बारेमा जानकारी गरिएको शाखाले जनाएको छ ।
४० जना धामी झाँक्री सहभागी भएको कार्यक्रममा उनीले आफु कहाँ आउने बिरामीलाई स्वास्थ्य संस्थामा गएर चेकजाँच तथा उपचार गर्नका लागि सुझाव तथा प्रेरित गर्ने प्रतिवद्धता जनाएको जानकारी प्राप्त भएको छ ।