वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरलाई सफा र सुन्दर बनाउने उद्देश्यले सरसफाइ सम्बन्धी दबाब मुलक र्यालीको आयोजना गरिएको छ । अन्तरनिर्भर समाज सुर्खेतको नेतृत्वमा शुक्रबार वीरेन्द्रनगरमा सरसफाई सम्बन्धी दबाव मुलक र्यालीको आयोजना गरिएको हो ।
जसमा वीरेन्द्रनगर नगरपालिका–६ को कार्यालय, सुन्दर नेपाल संस्था, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र मध्यपश्चिम विश्वविद्यालयको सोसलवर्क टिम र ब्रेव गोरखा ट्रेनिङ सेन्टर लगायतका संस्थाको संयुक्त आयोजना रहेको थियो भने र्याली वीरेन्द्रनगरको बसपार्क चोक, बिच बजार, गणेश चोक, आँखा अस्पताल बजार ठाउँमा गरिएको थियो ।
अन्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक विवेक शाहीले व्यापारी, नागरिक, सरकार सबैलाई वीरेन्द्रनगर सफा राख्न दबाब मुलक र्यालीको आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘सफा सुर्खेत आजको आवश्यकता हो भन्ने नाराका साथ हामीले सरसफाई सम्बन्धी दबावमुलक र्यालीको आयोजना गरिएको हो । हामी सबै मिलेर सफा र सुन्दर बनाउनुपर्छ ।’
स्वयंसेवक र सरसफाइ अभियानकर्ता तथा अन्य अभियन्ता, टोलवासी र जनप्रतिनिधिले सरसफाइ अभियानलाई निरन्तरता दिएको व्यवस्थापक शाहीको भनाइ छ ।
र्यालीमा ‘सफा सुर्खेत आजको आवश्यकता, स्वच्छ सुर्खेत, सफा सुर्खेत, एक पसल, एक डस्टविन, जथाभावी फोहोरले गर्छ स्वास्थ्य र समाजलाई हानी, गाडी चल्दा झ्यालबाट फोहोर नफालौं, मेरो फोहोर मेरो जिम्मेवारी, फोहोर फाल्नेलाई घृणा गरौँ, सफा गर्नेलाई सम्मान गरौँ, फोहोर नफालौँ, सभ्य नागरिकको परिचय दिउ, फोहोर व्यवस्थापनको नीति लागु गर र सफा सुर्खेत प्रतिको हाम्रो सरोकार, हाम्रो जिम्मेवारी हरित वीरेन्द्रनगर भन्ने नाराहरू तय गरिएको थियो ।