रुकुम पश्चिम : वैवाहिक कार्यक्रम तथा विवाह बर्षगाँठ भन्दै हरेक वर्ष भड्किलो खर्च गर्ने, ऋण लगाएर भएपनि भोजभतेर गर्ने चलन हाम्रो समाजमा छ । देखाउनकै लागि भएपनि धुमधामसँग भड्किलो तरिकाले विहे गर्ने हाम्रो समाजको चलन अगाडि रुकुम पश्चिमका एक दम्पत्तिले भने आफ्नो विवाह कार्यक्रम कम खर्चमा गरे र विवाह खर्च जोगाएर गत वर्ष अक्षय कोष निर्माण गरे ।
जिल्लाको त्रिवेणी गाँउपालिका वडा नम्बर ७ निवासी केशर खड्का र उनकी श्रीमती सरला राणा खड्काले यो उदाहरणीय काम गरेका हुन् । विवाह कार्यमा खर्च हुने ५ लाख रकम जोगाएर उनीहरुले गत वर्ष शैक्षिक सुधार तथा शैक्षिक सम्मान अक्षय कोष, २०७७ स्थापना गरे ।
हिजो मंसिर २२ गते आफु पढेको साधारण माध्यमिक विद्यालय मुरुडाँडामा एक कार्यक्रमबीच उनको जोडिले अक्षय कोषबाट प्राप्त ब्याज र केही रकम थप गरेर सहयोग प्रदान गरे । उनीहरुले गरिब तथा जेहेनदार २० विद्यार्थीलाई नगद, शैक्षिक सामग्री र विद्यालयलाई समेत भौतिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तातरण कार्यक्रममा उनीहरुले देखाउनको लागि भड्किलो विवाह नगरेर विवाहको लागि छुट्याएको रकमले अक्षय कोष निर्माण गरेको बताए । विदेशी चलनको सिको गर्दै एनिभर्सरी, हनिमुन जस्ता नचाहिदो काममा खर्च गर्ने चलनलाई निरुत्साहित पारेर सकारात्मक सन्देश दिन आफुले यस खालको काम गरेको केशर खड्काले जनाए ।

आफुले शिक्षा आर्जन गरेको विद्यालय, आफुलाई बाटो देखाउने गुरुहरु र आफ्ना भाइ बहिनीसँग विवाह वर्षगाँठ मनाउने उद्देश्यले सो अक्षय कोष निर्माण गरेको खड्काले प्रष्ट पारे । उनले विद्यार्थीहरुलाई राम्रो कामको सिको गर्न अनुरोध समेत गरे ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमबहादुर बुढाले पूर्व विद्यार्थीको नमुनायोग्य कामले विद्यालयलाई खुशी भएको बताए । यो उदाहरणीय कामले अरुलाई समेत सकारात्मक रुपमा समाजमा योगदान दिने सन्देश प्रवाह भएको प्रधानाध्यापक बुढाले बताए ।

२०६४ सालमा साधारण मावि मुरुबाट एसएलसी उत्तिर्ण गरेका केशर गत वर्ष सुर्खेत निवासी सरला राणासँग वैवाहिक जीवनमा बाँधिएका थिए । उनी अहिले नेपाल सरकारको अधिकृत पदमा कार्यरत छन् ।
कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष बिरबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारी, बिद्यार्थी लगायत स्थानीयवासीको उपस्थिति थियो ।
