सिमकोट ; स्थापनाको पाँच वर्षपछि सेवाग्राहीहरुले इलाका प्रशासन कार्यालय सर्केगार्डबाट प्रिन्टबाट निकालिएको नागरिकता प्रदान गर्न थालिएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ । विद्युतको व्यवस्था नभएको कार्यालयमा सोलार जडान गरिएपछि दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकले पहिलो पटक यस्तो नागरिकता पाउन थालेका हुन ।
चंखेली गाउँपालिका–२ की उलिना शाहीले पहिलो पटक नागरिकता कम्प्युटरबाट निकालिएको प्रिन्ट नागरिकता पाएको बताइन् । यसअघि तीन दिन लगाएर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयबाट सो नागरिकता लिनुपर्ने बाध्यता रहेको भएपनि दुई महिना अगाडीबाट इलाका प्रशासन कार्यालय सर्केगार्डले कामु कार्यालय प्रमुख पाउदा सेवाग्राहीलाई नागरिकता लिन सहज भएको थियो ।
अहिले पनि एक दिनमा नागरिकता लिन सकिने बताउँदै उनले तर भरपर्दो र टिकाउ नागरिकता उपलब्ध हुन थालेको जानकारी दिइन् । सो कार्यालयका प्रमुख भिम बहादुर रोकायाले यसअघि कार्यालयबाट हातैले लेखेर नागरिता प्रदान गर्ने गरिएको भएपनि अहिले भने कार्यालयमा रहेको कम्प्यूटर प्रिन्टरले काम गर्ने वातावरण मिलेपछि प्रिन्ट नागरिकता प्रदान गर्न थालिएको बताए ।
पहिला नै कम्प्युटर प्रिन्टर कार्यालयमा पुगेको भएपनि विद्युतको समस्या भएको कारण हातैले लेखेर नागरिकता प्रदान गर्ने गरिएको थियो । उनले सर्केगार्ड गाउँपालिका र कार्यालयको साझेदारीमा ३६ भोल्टको सोलार प्यानल जडान गरेर कम्प्युटर र प्रिन्टरले काम गर्न थालेपछि प्रिन्टेट नागरिकता दिन थालिएपघि सेवाग्राहीको घुइँचो लाग्न थालेको बताए । पहिलो दुई दिनमै दिनमै ७८ वटा नयाँ प्रिन्टेट नागरिकता र नौ वटा प्रतिलिपि प्रदान गरिएको छ ।
यसअघि सबै नागरिकको नागरिकता हातैले खेलेर प्रदान गरिएको कारण प्रिन्टेट नागरिकताको प्रतिलिपि लिनेको घुइँचो लाग्ने गरि जानकारी आउन थालेको कार्यालयले जनाएको छ । सो ईलाका प्रशासन कार्यालयबाट सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका सेवाग्राहीले नागरिता पाउदै आउनु भएको छ ।
यसअघि २०७३ सालनमा ईलाका प्रशासन कार्यालय स्थापना भएको भएपनि अधिकृत स्तरको कर्मचारी जान कोही नमानेको कारण नागरिकताका लागि आवश्यक कागजात बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनु पर्ने बाध्यता रहेको थियो ।
गृह मन्त्रालयबाट कार्यालय प्रमुख रोकायालाई दुई महिना अगाडी कामु कार्यालय प्रमुखको जिम्मेवारी दिएपछि नागरिक प्रदान गर्न सुरु भएको हो । कार्यालय प्रमुख पाएपछि ५३५ वटा नागरिकता हातैले लेखेर प्रदान गरिएको छ ।