नवलपरासी: पश्चिम नवलपरासी जिल्ला अदालतले दुई वर्षअघिको सामूहिक बलात्कार घटनाका अभियुक्त १० जनालाई जनही १३ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना तोकेको छ ।
सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
घटना २ वर्षअघिको हो । जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए ।
जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीय युवतीलाई २०७६ भदौ २२ गते उनीहरुले सामूहिक बलात्कार गरेका थिए ।
घटनामा संलग्न १० मध्ये ९ जना घटनालगत्तै पक्राउ परेका थिए । एक जना अझै फरार छन् । सजाय पाउनेमा सुस्ता गाउँपालिका–३, फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दीपप्रसाद यादव, राजु भनिने भीमबहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर छन् । त्यसै गरी सजाय पाउनेमा सोही वडाको सेखवाना गाउँका अमरनाथ भेडियार र सागर चौधरी (फरार) छन् । उनीहरू १९ देखि ४० वर्ष उमेर समूहका हुन् ।
पीडित युवती स्थानीय एक संस्थामा कार्यरत हुन् । संस्थाको काममा साथीसँग मोटरसाइकलमा जाँदै गरेकी युवतीलाई बाटो कुरेर बसेका उनीहरुले उखुबारीमा लगेर सामूहिक रुपमा जबरजस्ती करणी गरेको युवतीको बयानमा उल्लेख छ ।