काठमाडौं: प्राकृतिक विपद्का अवस्थामा प्रतिकार्य तथा राहत उद्धार गर्दा आधारभूत मानवीय मापदण्ड पालन गर्नुपर्नेमा जोड दिइएको छ ।
एशियाली पूर्वतयारी साझेदारी (एपिपी)को सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) द्वारा यहाँ आयोजित मानवीय मापदण्डसम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागी वक्ताले मानवीय सेवामा कार्यरत सरकारी, गैरसरकारी र निजी क्षेत्रका निकायको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु जरुरी भएको बताए ।
प्रशिक्षण शुभारम्भ गर्दै एपिपीका राष्ट्रिय प्रतिनिधि मान थापाले विपद्मा राहत तथा उद्धारका कार्यमा अपनाउनुपर्ने आधारभूत मानवीय पक्षबारे विश्वमा भएका प्रयास र नेपालले थालनी गर्नुपर्ने कामका बारेमा प्रकाश पारेका छन् ।
नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले विपद्मा पर्ने समुदायको आधारभूत मानवीय पक्षलाई आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो । तीन दिनसम्म सञ्चालित प्रशिक्षणमा लुम्बिनी, कर्णाली, मध्यपश्चिम र सुदूरपश्चिम प्रदेशमा विपद् क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाका ३५ प्रतिनिधिको सहभागिता थियो ।
प्रशिक्षणका १० सत्रमा विपद्का सैद्धान्तिक र व्यावहारिक ज्ञान, सरकारका विभिन्न निकायबाट जारी निर्देशिका, मापदण्ड र विभिन्न देशमा कार्यान्वयन गरिएका अभ्यासबारे जानकारी दिइएको थियो । विपद् विशेषज्ञ सुनिल शाक्यले आधारभूत मानवीय मापदण्ड एवं स्फेयरका प्रावधानबारे प्रशिक्षण दिनु भएको थियो ।
एनडिआरसीका कार्यक्रम निर्देशक सुरेश थापा र कार्यक्रम अधिकृत कृष्ण घिमिरेले प्रशिक्षणको संयोजन गरेका छन् । राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले गत असरमा मेलम्चीमा आएको बाढीपछि गरिएका राहत तथा उद्धारमा आधारभूत मानवीय मापदण्डको पालनाबारे जानकारी गराए । रासस