तनहुँ: तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई उक्त घार वितरण गरेको हो ।
विभिन्न वडामा रहेका अशक्त, अपाङ्ग, दलित, एकल र विपन्न महिलाको आयआर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरिएको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिए ।
लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई उक्त कार्यक्रम चलाइएको उनले बताए । “एक, वर्ष हामीले निःशुल्क मौरीको घार वितरण गर्यें । त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो ।
त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौँ । एउटै घारबाट पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो। नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।
गत आर्थिक वर्षदेखि भिमादमा उक्त कार्यक्रम सुरू भएकामा पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई मौरीसहितको घार वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए ।
कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि रु पाँच लाख विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई घार वितरण गरिएको हो ।
नगरपालिकाले मौरीसहितको एउटा घारलाई रु १० हजारमा खरिद गरेको थियो । मौरीपालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि थप घार विस्तार गर्न सकिने उनको भनाइ थियो । रासस