तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा १३४ वृद्धाका शल्यक्रिया गरिएको छ ।
शिविर एक दिन थप गरेर बिहीबारसम्म लम्ब्याइएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी–३ मा शिविर सञ्चालन गरिएको छ ।
शिविरमा ५०० भन्दा बढीको आँखा परीक्षण गरिएको पुनःस्थापना कार्यक्रमका फिल्ड अधिकृत प्रेम महर्जनले जानकारी दिए । उनका अनुसार बिहीबार ५० जनाको शल्यक्रिया गरिनेछ ।
तीन दिनसम्म शिविर सञ्चालन गर्ने तय भएकामा माग अत्यधिक भएपछि एक दिन थप गर्नपर्यो ५० जनाको आँखाको बिहीबार शल्यक्रिया गर्ने तय भएको छ । शिविरमा अधिकांश आँबुखैरेनीका र केही गोरखाका सर्वसाधारणले सेवा लिएका छन् ।
आँखामा मोतीयाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर आँखा अस्पतालका डा रञ्जितकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो ।
आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धा हर्षित भएका छन् । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।
गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा काठमाडौं जानुपर्ने बाध्यता थियो ।
नौ लाख सहयोग विगत लामो समयदेखि प्यारालाइसिसले थलिएका व्यास नगरपालिका–१ निवासी अभिसन थापा मगरको उपचारका लागि नौ लाखभन्दा बढी रकम सहयोग गरिएको छ । देश तथा विदेशबाट सङ्कलन भएको उक्त रकम बुधबार हस्तान्तरण गरिएको छ ।
व्यास–१२ कमलाबारी घर भई हाल अमेरिका निवासी कृष्णजीवी पन्थले समेत रकम जुटाउन सहयोग गरेका छन् । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहितको टोलीले पीडितको घरमा पुगेर रकम हस्तान्तरण गरेको छ । रासस