पर्वत: फलेवास नगरपालिकाले नगरवासीलाई आवागमनमा सहज गराउन अनुदानमा अटोरिक्सा वितरण गर्ने भएको छ । नगरभित्रको ग्रामीण भेगमा बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दो, नियमित र गुणस्तरीय यातायातको पहुँच विस्तार गर्न ३० प्रतिशत अनुदानमा सातवटा अटोरिक्सा उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गर्न लागिएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।
फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्र भएको र ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटोरिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । ‘ग्रामीण क्षेत्रसहित मुडिकुवा र फलेवासमा हिँडडुल गर्नका लागि खासै ट्याक्सी उपलब्ध छैन ।
सार्वजनिक सवारी साधन पनि नियमित नभएका कारण नागरिकलाई सास्ती भयो । “मान्छेले निजी सवारी साधन किन्नैपर्ने बाध्यता देखियो । सम्पन्नसँग त अहिले पनि निजी सवारी छन्, किन्न नसक्नेलाई त साह्रै कठिन छ । सातवटा अटोरिक्सा विभिन्न भेगलाई समेटेर सञ्चालन गर्न सकिएला ।
फलेवास नगरपालिकाका विभिन्न वडाबाट सदरमुकाम कुश्मा पुग्दा प्रायजसो जीप तथा बस छुट्नाका साथै एउटा वडाबाट अर्को वडामा जाँदा पनि जीप रिजर्भ गर्नुपर्ने वा हिँडेरै जानुपर्ने अवस्था छ । स्थानीयवासीलाई सर्वसुलभ दर तथा समयमै गन्तव्यमा पुर्याइदिने सवारी नभएका कारण पनि नगरपालिकाले अटोरिक्सा सञ्चालन गराउन लागेको हो ।
यसका लागि झन्डै रु १७ लाख पर्ने भएकामा बढीमा रु आठ लाखसम्म अनुदान दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए । अनुदानका लागि नगरपालिकाभित्रको स्थायी बासिन्दा हुनाका साथै , विपन्न तथा बेरोजगार र कम्तीमा पनि पाँच वर्षसम्म अटोरिक्सा चलाएको मापदण्ड तोकिएको छ।
प्राप्त अटोरिक्सा बिक्री गर्न नपाइने नियम पनि राखिएको छ । “यो कार्यक्रमबाट एक त नगरवासीलाई सर्वसुलभ सुविधा हुने भयो भने भनेका बेला सवारी साधान पनि उपलब्ध हुने भयो । अधिकृत सापकोटाले भन्नुभयो,“यसले बेरोजगारलाई रोजगारी दिए ।
नगरका सडकमा बर्खायाममा अलि समस्या भए पनि हिउँदमा सरर सवारी चल्ने अवस्था छ ।” अटो रिक्साको अनुदान लिएको व्यक्तिले कम्तीमा पाँच वर्षसम्म सञ्चालन नगरेमा वा त्यो अवधिभन्दा अगाडि नै बेचेमा नगरपालिकाबाट दिइएको अनुदानमा १० प्रतिशत हर्जाना जोडेर अनुदान रकम फिर्ता दिनुपर्ने सर्तसमेत राखिएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारमा एउटा मात्रै अटो रिक्सा सञ्चालनमा छ । सोही कारण त्यसको व्यवस्थापन, सञ्चालन, भाडादर कायमलगायत विषय मिलाउन कार्यविधि निर्माणको काम भइरहेको अधिकृत सापकोटाले बताए ।
इच्छुक तथा मापदण्ड पुगेका नागरिकले खरिद गर्ने ती रिक्सा ४१० सिसी, सातजनाको सिट क्षमता तथा पेट्रोलबाट चल्ने इञ्जिन भएको हुनुपर्ने भनिएको छ । रासस