दमौली: आन्तरिक राजस्व कार्यालय दमौलीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । दशौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका रूपमा डुम्रेस्थित सबैको लघुवित्त संस्थालाई सम्मान गरिएको हो ।
गत आर्थिक वर्षमा रु ३९ करोड नौ लाख कारोबार गरेको वित्तीय संस्थाको करयोग्य आयकर रु तीन करोड ९१ लाख रहेको थियो । उक्त संस्थाले त्यसअवधिमा रु एक करोड १७ लाख आयकर तिरेको थियो ।
विभिन्न मापदण्डका आधारमा उक्त संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रमुख कर अधिकृत ढकालले उक्त संस्थाका प्रतिनिधि केशव पौडेललाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरेको छन् । सोही अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नासु विनिता रानाभाटलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा प्रजिअ अर्यालले करको दर भन्दा करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिए । तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले व्यवसायी र कर प्रशासनबीच नङ र मासुको सम्बन्ध रहेकाले व्यवसायीलाई निर्भिक रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व रहेको बताए ।
चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कृष्ण आचार्यले व्यवसायीलाई करको दायरामा ल्याउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् । कर सप्ताहको अवसरमा कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कर प्रशासन सुधारका लागि विभिन्न कार्ययोजना बनाइएको बताउँदै प्रमुख कर अधिकृत ढकालले करको परिपालना गर्नेको करको लागत घटाउने नीति लिइएको जानकारी दिए । आन्तरिक राजश्व कार्यालय गत आर्थिक वर्षमा रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजश्व सङ्कलन गरेको थियो ।
कार्यालयले उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ ।
यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।
उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो । रासस