ललितपुर: दरबार सङ्ग्रहालय भित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि नित्य पूजा थालिएको छ ।विभिन्न कारणले स्थगित भइरहेको सो पूजा सोमबार हरिबोधनी एकादशीका दिनदेखि थालिएको हो ।
मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र विष्णु रुद्री पाठनसहित दैनिक नित्य पूजाको प्रारम्भ गरिएको पुजारी माधवश्याम शर्माले जानकारी दिए । मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको सुनिन्छ ।
सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि सङ्ग्रहालय खुल्ने समय खुला भएको उनको भनाइ छ ।
सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । यस मन्दिरमा १५औं शताब्दीको नारायणको मूर्ति छ ।
सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइने उनले जानकारी दिए । तत्कालीन राजा योगनरेन्द्र मल्लले सो नारायणसहित अन्य सात मणिगणेश, मणिचैत्य, मणिछँ, मणिभैरव, मणिमण्डप, मणिलिङ्गेश्वर र मङ्गहिटी अर्थात् मणिधारा नामक ८ मणि पाटनमा निर्माण गरी मणिगल क्षेत्र बनाएका बताइएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा सो मन्दिर अवस्थित छ । ललितपुर प्राचीन समयदेखि नै बास्तुकला एवं धर्मसंस्कृति केन्द्रका रुपमा विकास हुनाका साथै विभिन्न समयमा हुने पर्व अनि जात्राहरु आदि विविध पक्षका लागि प्रसिद्ध क्षेत्र हो ।
ललितपुर दरबारका प्रमुख अङ्गहरुमा तलेजु अनि द्घिमाजु मन्दिर, सुन्दरी अनि नासल तथा मूल र केशवनारायण चोक रहनाका साथै तुसा अनि लोहिटी र भण्डारखाल बगैँचा आदि समेत छन् ।
यसैगरी दरबारको पश्चिमी प्राङ्गणमा नेपाली छानेशैलीका हरिशङ्कर अनि चारनारायण तथा विश्वनाथका साथै भीमसेन मन्दिर र शिखर एवं गन्धकूट शैलीका नरसिंह मन्दिरसमेत रहेको छ । सो मन्दिरअगाडि ‘कात्तिक डबली’ मा गत बुधबारदेखि वियोगान्त कथामा आधारित कात्तिक नाट्य महोत्सव मञ्चन भइरहेको छ ।
ललितपुरका युपग्राम अनि यल तथा मणिगल र ललितपुरी आदि प्राचीन नाम हुन् । ललितपुरमा किरातको राजदरबार थियो भन्ने किंवदन्तीे छ । रासस