गलकोट: राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेको ताराखोला गाउँपालिकाले विकासमा क्रमशः फड्को मार्न थालेको छ । ताराखोलामा स्थानीय तह बने यताको चार वर्षमा उल्लेख्य भौतिक संरचना थपिएका छन् ।
गाउँपालिकाको कुनै कार्यालय पनि अहिले भाडाका घरमा छैनन् । गाउँपालिकाको आफ्नै कार्यालय छ । झण्डै रु तीन करोडको लागतमा प्रशासनिक भवन ठडिँदैछ ।
पाँच सय क्षमताको आधुनिक बहुउद्देश्यीय सभाहल निर्माण सकिएको छ भने ताराखोला सङ्ग्रहालयको काम अन्तिम चरणमा पुर्याएको गाउँपालिकाको ध्यान पर्यटनमा केन्द्रित गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । घुस्मेलीमा पक्की पुलसमेत निर्माण भइसकेको छ ।
सडकमा भने भौगोलिक जटिलताका कारण सोचेजस्तो सुधार गर्न नसके पनि कार्यालय व्यवस्थापन, सभाहल, कर्मचारी आवास, वडा कार्यालय अहिले आफ्नै भवनबाट सञ्चालनमा ल्याएका छौँ । चार वर्षको अवधिमा आधारभूत भौतिक संरचना तयार भइसकेको छ, शहीद मार्ग कालोपत्रेका लागि पूर्वाधार निर्माण भइरहेको छ ।
तर भिरालो बस्ती भएका कारण सडक सञ्जालले सबै गाउँ छोए पनि सहजपूर्ण यात्रा गराउन सकिएको छैन, सडकमा लगानी ठूलो लाग्ने भएकाले समस्या छ । उनका अनुसार ताराखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको विकास र नयाँ पर्यटकीय क्षेत्र बनाउनका लागि एकीकृतरुपमा विस्तृत योजना प्रतिवेदन (डीपीआर) बनाएर अगाडि बढेको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिए ।
पाँच वडा रहेको गाउँपालिकामा पर्यटनको सम्भावना तथा भौगोलिक बनावटका आधारमा पर्यटनको विकासका लागि पालिकाले काम थालेको छ । पालिकाले करिमेलामा स्टोन भिलेज गाउँ निर्माण, सिपमा पोखरी र पर्यटकीय पदमार्ग, अर्गलको गयरामा शहीद पार्क, मोतीमारेमा पर्यटकीय पार्क, सिद्ध गुफा संरक्षण र रानु झरनामा पूर्वाधार निर्माण गर्ने गरी १७ करोडको लागतमा डीपीआर तयार भइसकेको ताराखोला गाउँपालिकाले जनाएको छ ।
सङ्घीय सरकारको पर्यटन विभाग र स्थानीय तहको साझेदारीमा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिए । तत्कालै स्टोन भिलेज गाउँ करिमेलाबाट पर्यटनको काम सुरु हुने र अहिले सङ्घ सरकारको रु ५० लाख र गाउँपालिकाको दश लाखमा काम सुरु हुनेछ ।
पालिकाले एक गाउँ एक पोखरी निर्माणअन्तर्गत नयाँ निर्माण र पुराना मर्मत गरी २० पोखरी बनाएको छ । शहीद उद्यानमा तयार गरिँदैछ । अहिले गाउँपालिकामा घरबाससमेत फस्टाउँदै आएको छ ।
कोरोनापछि घरबासमा राम्रे पाहुना आउन थालेको ताराखोलास्थित किकल्टा घरबासका सञ्चालक समितिका अध्यक्ष फूलमाया रोकाले जानकारी दिए । ताराखोलाको भुस पोल्ने मेला, एकादशी मेलालगायतमा मेला लक्षित गरी आउने पाहुनाको चाप बढी रहेको ताराखोलाका घरबासका सञ्चालक बताउँछन् । रासस