बागलुङ: वर्षायामको भेल पहिराले बिग्रेको मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया खण्डको मर्मत, सुधारमा गलकोट नगरपालिकाले चासो देखाएको छ ।
पाँच वर्षअघि कालोपत्र भएको उक्त सडक नियमित मर्मत नहुँदा रुग्ण स्थितिमा छ । लोकमार्ग आयोजना कार्यालयले सडक सुधारमा बेवास्ता गरेपछि नगरपालिकाले आफ्नै स्रोतमा सडकको सामान्य मर्मत थालेको हो ।
बीस किमी उक्त खण्डमा कैयन् नयाँ–पुराना पहिराले सडक क्षतविक्षत बनेको छ । ठाउँपिच्छे यात्रामा जोखिम छ । नगरप्रमुख भरत शर्मा गैरेले जीर्ण सडकको सुधारमा आयोजना व्यवस्थापनले अनदेखा गरेपछि नगरपालिका आफैँले ममर्तको काम थालेको बताए ।
यो सडकको स्तरोन्नतिका लागि पटकपटक माग र गुनासो राख्यौँ, कुनै सुनुवाइ भएन । बृहत् सुधार र संरचना बनाउन नगरको स्रोत, साधनले नभ्याउने भएकाले अति जोखिम भएका ठाउँमा मर्मत सुरु गरिएको हो ।
सङ्घ सरकारअन्तर्गतको आयोजना कार्यालय उदासीन बने पनि स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने लोकमार्गको सामान्य मर्मतका काममा पहल लिनुपर्ने आवाज उठ्ने गरेको थियो ।
नगरप्रमुख गैरेले खाल्डाखुल्डी पुर्ने, पहिरा पन्छाउने र घुम्ती मिलाउने काममा नगरले बजेट खर्च गर्ने बताए । अघिल्लो वर्षायाममा भएको अधिक वर्षाले त्यस खण्डमा ठूलो क्षति गरेको थियो । वडा नं १ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ ।
जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा जोखिम बढी छ । ससाना अवरोध त दर्जनौँ ठाउँमा छन् । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै आएको छ । वर्षायाममा सडक अवरुद्ध बन्दा तत्काललाई पहिरा पन्छाएर सडक खोल्ने गरिएपछि दीर्घकालीन रुपमा सडक सुरक्षाको काम हुन सकेको छैन ।
राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र संरक्षणमा सम्बन्धित पक्ष गैरजिम्मेवार देखिन्छ । वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले हटिया, नरेठाँटी बजार हुँदै मर्मतको काम सुरु गरिएको बताए । “घोडाबाँधेसम्म धेरै ठाउँमा मर्मत गर्नुपर्ने अवस्था छ, कतिपय घुम्तीमा ठूला सवारी गुडाउँ नै जोखिमपूर्ण छ ।
नगरको सीमित बजेटले धेरै काम त गर्न नसकिएला तर यातायात सञ्चालनमा केही सहजता ल्याउने गरी काम भइरहेको छ ।” आयोजना कार्यालयले भने सामान्य पटके मर्मत नभएर उक्त खण्डमा पुनः ठेक्का गरेर बृहत मर्मत, सुधार गर्नुपर्ने जनाएको छ ।
आयोजनाका इन्जिनियर उज्ज्वल शर्माले पूरै सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको बताए । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले सडक भासिने, पहिरा जानेजस्ता समस्या निम्तिने गरेको उनको भनाइ छ ।
लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा पहिले कालोपत्र भएको थियो । बागलुङ बजारदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक भने अझै कच्ची छ ।
मार्ग खुलेको दुई दशक बित्दासमेत बागलुङ–घोडाबाँधे सडक खण्ड कालोपत्र हुन सकेको छैन । हटियादेखि पश्चिम पुग्ने खण्डमा पनि कालोपत्र सडक छ । रासस