सिमकोट: असोज ३१ गतेबाट अबरुद्ध रहेको सिमकोट खार्पु सडक सुचारु भएको छ । पहिरोले भत्काएको सडक मर्मत तथा सडकमा खसेका ढुङ्गा पन्छाउने कार्य भएपछि लामो समय बन्द रहेको सडक सुचारु भएको हो ।
गाडी चालक जोर बोहराले बन्द रहेको एक महिनापछि बन्द रहेको सडक सुचारु भएको बताए । यातायता सुचारु भएपछि यात्रुहरुलाई सहज हो । पहिरो तथा माथिबाट खसेका ठुला चट्टानले दुई दर्जन स्थानमा सडक अबरुद्ध भएको थियो ।
अबरुद्ध सडक सुचारु नहुँदा यात्रुहरु सडकमा खसेका चट्टानमै जोखिम उठाए हिड्न बाध्य हुँदै आउनु भएको थियो ।
पूर्वाधार बिकास कार्यालयका प्रमुख देबी ऐडीले निक्कै लामो प्रयास पछि कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाको समन्वयमा अबरुद्ध रहेको सडकको मर्मत कार्य गरेपछि यातायात सुचारु भएको जानकारी दिए ।
खार्पु स्याम्ने खण्डको सडक मर्मत गर्न प्रयोग गरिएको मेशिनको लागि इन्धन भने खार्पुनाथ गाउँपालिकाले सहयोग गरेको हो । यी कार्यालयलाई दुई वटा मेशिनबाट मर्मत कार्य गर्न एक हप्ता भन्दा बढी समय लागेको थियो ।
कात्तिक पन्ध गतेबाट सडक मर्मत कार्य सुरु गरिएको भएपनि मेशीनका लागि आबश्यक इन्धन अभाब हुँदा काम रोक्नु परेको थियो । उनले इन्धन जुटाउन निक्कै प्रयास गरेर भत्किएको सडकको मर्मत कार्य गर्नु परेको बताए ।
उनले दुबै निकायको समन्वयमा सात किलो मिटर भन्दा बढी सडक मर्मत गरिएको जनाए । मर्मत गरिएको सडकमा खार्पुबाट स्याम्नेसम्म आयोजना र स्याम्नेबाट सिमकोटसम्म पूर्वाधार बिकास कार्यालयले मर्मत गरेको हो ।
सिमकोटबाट खार्पुसम्म ११ किलो मिटर लम्बाई रहेको छ । भत्किएको सडक मर्मत गरिएपछि एक दर्जन बोलेरो जीप र ट्याक्टर सञ्चालनमा आएका छन् । यसैबिच सिमकोटबाट ठेहेसम्मको बर्षाले भत्काएको सडकको पनि सिमकोट गाउँपालिकाले मर्मत कार्य अगाडी बढाएको छ ।
सो खण्डमा पनि आधा दर्जन स्थानमा सडक अबरुद्ध भएको थियो । भत्किएको सडकको मर्मत कार्य अन्तिम चरणमा पुगेकोले अब चाँडै सो सडक सुचारु हुने सिमकोट गाउँपालिकाले जनाएको छ । यता सिमकोटबाट हेक्सा खोलासम्मको १५ किलो मिटर सडकको पनि हिल्सा सिमकोट सडक आयोजनाले मर्मत गरेर यातायात सुचारु गरेको छ ।
आन्तरिक रुपमा सञ्चालनमा आएका सडकहरु पहिरोले अबरुद्ध भएपछि लामो समय बन्द रहँदै आएका थिए । यता कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने कवाडी देखि सलीसल्ला खण्डका भत्किएको सडक पनि सेनाले मर्मत गरेर सुचारु गरेको छ ।