काठमाडौं: राष्ट्रिय जनगणना–२०७८ का लागि आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरकारी आवासबाट आज जगणनाको शुभारम्भ गरिएपछि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख एवं जिल्ला जनगणना समन्वय समिति झापाका संयोजक श्रवणकुमार तिम्सिनाले यथार्थ विवरण सङ्कलनमा सबै पक्षले सहयोग अपरिहार्य भएको बताए । गणक र सुपरीवेक्षक परिचालन भएपछि अनुगमन पनि हुन्छ, यस पटकको जनगणना पृथक भएकाले त्यसबारे सबैले बुझ्नु र सहयोग गर्न आवश्यक छ ।
जिल्लामा जनगणनाका लागि एक हजार ४५२ गणक र सुपरिवेक्षण परिचालन गरिएको छ । जनगणनाका लागि झापामा दुई कार्यालय (बिरीङ नदी पश्चिम दमक र बिरीङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ । जनगणना कार्यालय भद्रपुरका प्रमुख चुणामणि लुइँटेलले दमक कार्यालय अन्तर्गत ११४ सुपरीवेक्षक र ५०५ गणक गरी ६१९ जना परिचालन गरिएको जानकारी दिए ।
त्यस्तै, भद्रपुर कार्यालय अन्तर्गत १५१ सुपरीवेक्षक र ६८२ जना गणक परिचालित भएका छन् । अक्सर बसोबासको आधारमा जनणगना गरिने भएकाले केही समस्या आउन सक्ने बताउँदै उनले भने “घर भाडामा बस्नेको संख्या छुट्ने चिन्ता छ ।” तर, गणकलाई राम्ररी तालीम दिएकाले त्यस्तो समस्या नहुने विश्वास लिइएको उनको भनाइ छ ।
यस वर्षको जनगणनामा मातृ मृत्यु अध्ययनसमेत गर्न लागिएको उनले बताए । “परिवारमा १५ देखि ५९ वर्ष उमेर समूहका महिलाको मृत्यु भएको तथ्याङ्क लिइनेछ । परिवारको सहमतिमा मृत्युको कारण के हो ? भन्नेबारेमा स्वास्थ्यकर्मीसहितको टोलीले जानकारी लिनेछ ।
यस पटकको जनगणनामा ५५ वटा प्रश्न रहेको जनगणना कार्यालय दमकका प्रमुख प्रेमकुमार घिमिरेले बताउनुभयो । “व्यक्तिगत, पारिवारिक र समुदायिक प्रश्नावली रहेका छन्। तथ्याङ्क सङ्कलनमा यसले ठूलो क्षेत्र समेटेको छ ।
जनगणना सफल बनाउन झापामा प्रजिअदेखि वडाध्यक्षसम्मको सहभागिता हुनेगरी चारवटा समिति गठन गरिएको छ । यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ । रासस