जुम्ला: प्रदेशसभा सदस्य नरेश भण्डारीले गत असोज ३१ देखि परेको अविरल वर्षाका कारण यही कात्तिक २ गते जुम्लामा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
उनले भेरी तथा गिरी खोलामा आएको बाढीले तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका ४ को गिरीखोला, नियापानी, ठाँटा, हाँकु गाउँ, ७ र ८ नं वडाको सर्मी, सुर्की, ताम्ती, बारागाउँ, बैतडी र टोप्लाको धानबाली, खेतीयोग्य जमिन, सडक, पुल, स्याउ बगैँचा, विद्युत् गृह, खानेपानी, स्थानीय घट्टलगायतमा पु¥याएको क्षतिको अवलोकन गरेका छन् ।
जाजरकोट जोड्ने सडकको सीमा क्षेत्रसम्म स्थलगत अनुगमन गर्नुभएका पूर्व मन्त्री भण्डारीले टोप्ला गाउँ अन्धकार भएकाले तत्काल जेनेरेटरको व्यवस्था गर्ने र अन्य गाउँका लागि राष्ट्रिय प्रसारण लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणसँग पहल गर्ने जानकारी दिए ।
अवलोकनका क्रममा उहाँले बाढी पीडितलाई राहत उपलब्ध गराउनुको साथै दीर्घकालीन समस्या समाधानका लागि यसअघि नै कर्णाली प्रदेश सरकारलाई मागपत्रसहित ध्यानाकर्षण गरिएको जनाए । सडक, विद्युत्, घर, खेतीयोग्य जमिनको कटान, बालीनाली, विद्युत् नष्ट भएकाले राहत तथा पुनःस्थापना र पुनःनिर्माणको विशेष प्याकेज कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।
तातोपानी–८ का धनबहादुर शाहीले आफ्नो दुःखमा अभिभावक बन्दिन जनप्रतिनिधि तथा सरकारलाई आग्रह गर्नुभएको थियो । यसअघि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर आधारभुत आवश्यकता पूरा गर्न मन्त्रालय मातहतका जिल्ला कार्यालयलाई निर्देशन दिए ।
पूर्वमन्त्री भण्डारीले बुधबारै तातोपानीको रु एक करोड, प्रदेश सरकारअन्तर्गत आफ्नै सांसद विकास कोषको रु ४५ लाखमा निर्माणाधीन तातोपानी सिंजा गाउँपालिका जोड्ने थारमारे बिलौरी कृषि ग्रामीण सडकको समेत अनुगमन गरेका छन्।
तातोपानी–५ लाम्रा श्रीनगर, बयालकाटिय गाउँ हुँदै मध्य सिंजाको जोडु भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण मध्ये ४०० मिटर मात्र बाँकी रहेको उक्त गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त सडक निर्माण भएमा सिंजालीवासीलाई करिब २० किमी दूरी कम हुनेछ । रासस