मान्म : कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा पानीको अभाव भएको छ । हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो । हिउँदे मौसममा सध गाउँमा खानेपानीको अभाव हुने गरेको भए पनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समधान नभएको स्थानीय अमनि विश्वकर्माले बताए ।
“लामो समयदेखि हाम्रो गाउँमा खानेपानीको समस्या हुने गरेको छ”, उनले भने,“नजिकै खानेपानीको धारा भए पनि हिउँद याममा सुक्ने भएकाले खानेपानीको समस्या अहिलेसम्म समाधान हुनसकेको छैन् ।”गाउँमा सबैको खानेपानीको एउटा मात्र धारा भएका कारणले पानी भर्नका लागि बिहानैदेखि पानी लिन आउनुपर्ने र पालोमा कुर्नुपर्ने पालो मिचिएमा झगडा हुने गरेको विश्वकर्माले बताए ।
“खानेपानीको अभावमा सधैँ गाउँमा झगडा हुने गरेको छ”, उहाँले भन्नुभयो,“खानेपानी अभाव पनि गाउँको कलहको विषय बन्दो रहेछ ।”स्थानीय सरकार आउँदा पनि खानेपानीको विषयमा कसैले चासो नदिएको स्थानीयवासी जितन विकले जानकारी दिए । “हामीलाई गाउँमा खानेपानी भएको भए केही चाहिँदैन थियो”, उनले भने, “कहिले खानेपानी भर्नका लागि पालो कुर्दा दिननै बित्ने गरेको छ ।”
लार्फा गाउँमा अहिले गाउँपालिका र गैरसरकारी संस्था हुरुन्डेक नेपालले खानेपानीका लागि काम गरिरहेको वडा अध्यक्ष बिरी विकले बताए । “अबको एक महिनाभित्र गाउँमा खानेपानीको धारा जडान हुन्छ”, उनले भने,“लार्फा गाउँका एक घरमा एक धारा निर्माणको अन्तिम तयारी रहेको छ ।”
गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भए लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका लार्फा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्षले विकले जानकारी दिए । उनले भने,“ समस्या समधान गर्नका लागि स्थानीय सरकारले काम गरिएको छ । चाँडै समस्या समधान हुन्छ ।” रासस