गण्डकी: नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।
चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन जनमैत्री सङ्घका पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रमअन्तर्गत दूतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति, भविष्य निर्माण , जनचेतन र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्याललाई इन्टरनेट जडानका सहयोग गराइने छ ।
सम्झौतामा जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् । सङ्घका अध्यक्ष पालिखेका अनुसार सङ्घको प्रस्तावमा चिनियाँ दूतावासले पहिलो चरणमा चार विद्यालयमा इन्टरनेट सुविधा प्रदान गर्नका लागि सहयोग गरेको हो ।
सम्झौताअनुसार विद्यालयले एक वर्षको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् । यसैगरी सोलार प्यानल, सबै कक्षामा आवश्यक इन्टरनेट डिभाइडरलगायतका उपकरणसमेत प्रदान गरिएको उनले जानकारी दिए ।
पोखरा इन्टरनेटले उपलब्ध गराउने इन्टरनेट सेवाका लागि चार विद्यालयमा गरी कूल रु २० लाख लगानी भएको उनले जानकारी दिए । कार्यक्रममा राजदूत यान्छीले नेपालको शिक्षा विकासमा सघाउन चीन सदैव तत्पर रहेको बताए ।
कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा धेरै विद्यार्थी प्रभावित बनेको जनाउँदै उनले ज्ञान, शिक्षा र दूरशिक्षाका लागि इन्टरनेटट अत्यावश्यक रहेकाले सहयोग गरिएको हो । विद्यालयमा इन्टरनेट अभावमा अनलाइन कक्षा सञ्चालन हुन नसक्ने भएकाले दूतावासले नेपालका धेरै विद्यालयमा सहयोग गरेको उनले जानकारी दिए ।
नेपाल र चीन नदी र पहाडले जोडिएका छिमेकी हुन्, दुःख र सुखमा सँगै हिँडेका असल मित्र हुन्”, राजदूत यान्छीले भने कोभिड महामारीको सुरुआतमा नेपालले चीनलाई गरेको सहयोगप्रति चीन सदैव आभारी छ । नेपालमा महामारी गम्भीर भएपछि मेडिकल उपकरणलगायतमा चीनले मद्दत गरेको हो ।
गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेकाले चीन सरकारको सहयोग आवश्यक रहेको बताए ।
गण्डकी प्रदेशको कला, संस्कृति र चीनको संस्कृति मिल्दोजुल्दो रहेकाले प्रदेश सरकारले नजिकको सम्बन्ध बनाउन चाहेको उनकोे भनाइ छ ।
मुस्ताङसँग जोडिएको चीनको कोरला नाका सहज सञ्चालन भएको खण्डमा तीब्र विकासमा सहयोग पुग्ने भएकाले नाका खोल्न पहल गर्न राजदूत यान्छीसँग उनले आग्रह गरेका छन् । रासस