काठमाडौं: कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खान्छन् ।
यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताए । पञ्चमीका दिन आज राजधानीमा छठ मनाइने गुह्येश्वरी गौरीघाट क्षेत्र र कमलपोखरीमा विशेष चहलपहल छ ।
गुह्येश्वरी गौरीघाट क्षेत्रमा बुधबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य चढाउन ६७५ वटा छठ घाटअर्थात् पूजा स्थल बनाइएको उनले सुनाए । यसमध्ये ३० वटा घाट भने निःशुल्क दिइने छ । बाँकी घाट लिन चाहनेले रु एक हजार १०० शुल्क बुझाउनुपर्ने समितिले जनाएको छ ।
गत वर्ष कोरोना महामारीका कारण गुह्येश्वरी गौरीघाट क्षेत्रमा बृहत्रुपमा छठ नमनाइएकाले वाग्मती नदीलाई सम्याएर व्यवस्थित बनाउन असहज भएको समिति सदस्य सिंहले सुनाए ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी पूरा भएको छ । कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको संयोजन एवं समन्वयमा छठ पूजा गरिने जनाइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा समापन हुन्छ ।
गत वर्ष घरको छतमा छठ पर्व मनाएका बर्तालु यस वर्ष पनि कोरोनाको जोखिम केही कम भए पनि पूर्णरुपमा अन्त्य नभएकाले विसं २०७६ मा जति छठ घाट ‘बुकिङ’ गर्न नआएको समितिले जनाएको छ ।रासस