लमजुङ: जिल्लाकै सबैभन्दा सुगम तथा सुविधा सम्पन्न सदरमुकामको बेँसीशहर नगरपालिकाको सडक जीर्ण बन्दै गएको छ ।
सम्बन्धित निकाय तथा नगरपालिकाको बेवास्ताका कारण मर्मत नहुँदा रानीकुवा, मजुवाखेला नजिकैको सडक पुल, शेरा चोक, फुलबारी चोक, झिङ्गेखोला, ल्याण्ड स्टार साइट, घलेगाउँ चोकलगायत स्थानका सडक जीर्ण बन्दै गएको हो ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वारसमेत रहेको बेँसीशहरको सडक जीर्ण हुँदा आन्तरिक तथा विदेशी पर्यटक, सवारी चालक, यात्रुदेखि स्थानीयवासीले समेत बढी सास्ती खेप्दै आएका छन् ।
रानीकुवा र मजुवाखोलाबीच भागको झण्डै ५० मिटर सडकको कालोपत्र गतवर्ष र यस वर्षको बाढीपहिरो भत्काएको छ । यहाँका केही भाग सडकसमेत बाढीले बगाएको छ । यसरी सडक जीर्ण बन्दै गए पनि मर्मत हुन नसक्दा पानी परेको बेलामा हिलाम्मे र अन्य बेला धुलाम्मे हुँदा सवारी साधनदेखि पैदल यात्रुसम्मलाई समस्या हुनथालेकोे छ ।
यही नजिकको मजुवा पुल समेत जीर्ण बन्दै गएको छ । उक्त पुल काटेपछि मुख्य बजारका सडकमा खाल्डैखाल्डा देखिन्छ । यहाँ वर्षा भएको बेलामा खाल्डाखुल्डीमा जमेको पानीले हिलो तथा पानी छ्यापने हुँदा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।
यस्ता खाल्डाखुल्डीले गर्दा सवारी साधनसमेत सहज रुपमा सञ्चालन गर्न समस्या हुने गरेको छ । सर्वसाधरण मात्र मात्र होइन यही बाटोहुँदै नगर प्रमुख, उपप्रमुख, प्रजिअ, जिल्लाका विभिन्न कार्यालय प्रमुख नियमित ओहोरदोहोर गर्ने गरे पनि यस विषयमा कुनै चासो नै दिइएको छैन ।
केही समयअघि शेरा चोकमा हिँड्दै गर्दा एउटा मोटरसाइकलले खाल्डोमा जमेको पानी शरीरभरी पारेर रुझाएको स्थानीयवासी लक्ष्मी श्रेष्ठले बताए । यहाँ एक दिन मात्र होइन वर्षाभएका बेलामा अन्य यात्रुलाई पनि जथाभावी सवारी चलाउनेले रुझाउने भएकाले डराइडराइ हिँडनुपर्ने भएकोे छ ।
चौतर्फी दबाबपछि नगरपालिकाले फूलबारी चोक तलदेखि कृषि ज्ञान केन्द्र कार्यालयबीच भाग सडकमा भने ढलान गरेको छ । नगरपालिकाको पाँच लाख बजेटमा करिब २० मिटर सडक ढलान गरिएको हो ।
नगर प्रमुख गुमानसिंह अर्यालले भने नगरभित्रका सडक मर्मत गर्ने दायित्व हाम्रो भए पनि बजेट अभावले गर्दा केही गर्न सकेका छैनौ ।
नगरका पुराना सडक धेरै भत्किएका छन्, मर्मतका लागि करौडांँै लाग्ने भएकाले लागत अनुमान गरी पैसाको जोहो भएपछि मर्मत गरिने उनको भनाइ थियो । रासस