कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ ।
समुहले उनीहरुलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो । विपन्न परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा घर निर्माण र मर्मत गर्न नसक्ने देखिए पछि निःशुल्क रुपमा काठ उपलव्ध गराउने निर्णय गरिएको समितिका अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए ।
झोपडीमा वर्षौंदेखि बस्दै आएका विपन्न, एकल महिला, घरबासका लागि मात्रै जग्गा भएका आयस्रोत नभएका उपभोक्तालाई ढुवानी चिरानी खर्च सामुदायिक वनले बेहोर्ने गरी काठ उपलब्ध गराउँदै छौँ । यस कार्यबाट सहजरुपमा विपन्न परिवारले बस्नका लागि घर पाउँछन् ।
“झोपडीमा बस्दै आएका परिवारले सर्प, विषालु किरा र बर्सातमा पानी पर्दा निर्क सास्ती खेप्नुपर्ने अवस्था थियो । काठ उपलब्ध गराइएपछि विपन्न परिवारले सुरक्षित घर निर्माण गरी सहजरुपमा बस्न पाउँछन् । सामुदायिक वनका उपभोक्तामध्ये विपन्न अवस्थाका उपभोक्ताको पहिचान गर्ने कार्य भइसकेको उनले बताए ।
विपन्न अवस्थाका ६५ उपभोक्तालाई निःशुल्करुपमा काठ उपलब्ध गराउनका लागि छनोटमा परेका छन् । अपाङ्गता भएका व्यक्तिलाई समितिले भत्ता दिने व्यवस्थासमेत गरिएको छ । चार वर्षदेखि नियमितरुपमा समितिले दुई दर्जन बढी अपाङ्गता भएका व्यक्तिलाई मासिकरुपमा रु ३०० का दरले भत्ताबापत रकम उपलब्ध गराउँदै आएको छ ।
उपभोक्ताको मृत्यु संस्कारमा प्रयोग हुने गरी समितिले निःशुल्करुपमा दाउरासमेत उपलब्ध गराउँदै आएको छ । “उपभोक्ताको मृत्यु भएमा अन्तिम संस्कारका लागि दाउरा उपलब्ध गराउँदै आएका छौँ”, समितिका अध्यक्ष महराले भने बेवारिसे शवको दाहसंस्कारका लागिसमेत निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था गरेका छौँ ।
उपभोक्तालाई काठ उपलब्ध गराउँदा धोद्रो(भित्र कुहिएको) भएको गोलिया पर्ने सम्भावना धेरै हुन्थ्यो । उपभोक्ता मार्कामा पर्ने गरेका थिए । यसै कुरालाई मध्यनजर गर्दै समितिले उपभोक्तालाई काठ चिरानी गरी उपलब्ध गराउँदै आएको छ ।
सामुदायिक वनकै ट्रयाक्टरमा राखेर बाह्य क्षेत्रको तुलनामा आधा सस्तोमा चिरानी गरिएको काठ उपभोक्ताको घरसम्मै ढुवानी गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
समितिले डिभिजन वन कार्यालय कञ्चनपुरको सहमतिमा चालु आवमा साल, राइजामुन, बर्रो, असना, कर्मा, जामुनलगायतका दुई हजार ४२ गोलियाको १७ लाख ३६ हजार ७६९ क्युविक फुट काठ चिरानी गर्ने सहमती पाएको छ । काठ चिरानीको सव डिभिजन वन कार्यालयका कर्मचारीको प्रत्यक्ष देखदेखमा हुने बताइएको छ ।
काठ, दाउरा, भुइँ घाँस बिक्रीबाट सामुदायिक वनले आम्दानी गर्दै आएको छ । सामुदायिक वनमा ५०० उपभोक्ता आश्रित रहेका छन् ।
विसं २०५८ मा विधिवत्रुपमा दर्ता भएको सामुदायिक वन २३० दशमलव शून्य एक हेक्टरमा फैलिएको छ । रासस