दमौली: रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।
व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सिसी क्यामरा जडानका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् । ३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेकाले देउसीभैलोबाट रु ६२ हजार १०५ सङ्कलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिए।
यस टोलमा सिसी क्यामरा जडान गर्न अतिआवश्यक भइसकेको छ, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि सिसी क्यामरा आवश्यक छ । बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्य लिएर आफूहरुले देउसीभैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठले बताए ।
टोलवासीको सल्लाह र सुझावले नै आफूहरुले सिसी क्यामेरा जडान गर्न देउसीभैलो खेल्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार देउसीभैलोबाट सङ्कलन भएको रकममा थपथाप गरी सिसी क्यामरा खरिद गरिने छ । सामाजिक भावना राखेर आफूहरुले खेलेको देउसीभैलो कार्यक्रममा टोलवासीले मन खोलेर दान गरेकाले थप हौसला मिलेको सस्थाका सदस्य गौरी थापाले बताए ।
तिहारमा टोलले दमौली बजार क्षेत्रमा पहिलोपटक झिलीमिली बत्ती जडान गरेर चर्चा बटुलेको थियो । तीन महिनामा एक करोड राजश्व सङ्कलन जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा रु एक करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि असोज मसान्तसम्म रु एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व सङ्कलन गरेको हो ।
राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड लगायतबाट कार्यालयले उक्त राजश्व सङ्कलन गरेको हो । कार्यालयले सबैभन्दा बढी राहदानी शुल्कबाट राजश्व सङ्कलन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार राहदानी शुल्कबाट मात्रै रु एक करोड २२ लाख १५ हजार, संस्था दर्ता÷नवीकरणबाट रु तीन लाख ४३ हजार तीन सय ९५, हातहतियारको इजाजतपत्र दस्तुरबाट रु ३५ हजार दुई सय र न्यायिक दण्ड, जरीवानाबाट रु दुई लाख ३८ हजार ४० राजश्व सङ्कलन भएको छ ।
कार्यालयले उक्त अवधिमा दुई हजार ९ सय ४० नागरिकता वितरण गरेको छ । वंशजका आधारमा दुई हजार ९ सय ३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ । सोही अवधिमा एक हजार ६ सय ६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
कार्यालयले एक हजार ७२ राहदानी वितरण, दुई हजार तीन सय ३५ जिल्लाबाट सिफारिस र चार सय २१ दु्रत सेवा सिफारिस गरेको छ । १२ जना विपद्बाट पीडित भएकामा कार्यालयले रु पाँच लाख ४८ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ । ११ मुद्दा दर्ता भएकामा गत वर्षको समेत गरी १३ मुद्दा फछ्र्यौट भएको छ ।
आदिवासी जनजाति प्रमाणित सात सय ६५, दलित प्रमाणित दुई सय ९९, पेन्सन सिफारिस चार सय ३६ र एक हजार ४३ अन्य सिफारिस गरिएको छ । कार्यालयमा उक्त अवधिमा ३४ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २५ संस्था नवीकरण भएका छन् ।रासस