बागलुङ: प्रवेशद्वारमा रहेको मालढुङ्गा प्रहरी चौकी अझै अस्थायी छाप्रोमा सञ्चालनमा छ । चौकीमा झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने स्थान पनि छैन ।
प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरका अनुसार जिल्ला प्रवेश गर्ने प्रहरी चौकी र ट्राफिक प्रहरीको जाँचचौकीसमेत गर्दा यहाँ १५ जनाको दरबन्दी छ । अन्यत्रको चौकीझैँ रात परेपछि सुतिहाल्न पनि मिल्दैन । त्यसैले मालढुङ्गामा चौबीसै घण्टा पहरा चाहिन्छ ।
राजमार्ग भएकाले सवारी जाँच गर्नुपर्छ । जस्तोसुकै मानिससँग छलफल र बहस गर्नुपर्छ । आफ्नो भवनको समेत सुरक्षा नभएको स्थानमा प्रहरीले जनताको सुरक्षाको काम गरिरहेका छन् । प्रहरीले पनि चौकी भनेर बताउनै अप्ठेरो मान्नुपर्ने स्थिति छ । यहाँको शौचालयसमेत साँघुरोे छ ।
हावाहुरी आउँदा चौकीको जस्तापाता पटक–पटक उडाएर लैजान्छ । वर्षात्मा पानी चुहिन्छ । होचो भएकाले घाम लाग्दा बसिनसक्नु गर्मीले सताएकोसमेत उनीहरुले गुनासो गरे । प्रहरी सहायक निरीक्षकसहित १५ जनाको दरबन्दी छ । यहीँ चौकीमै बस्ने गरी दुई जना ट्राफिक दरबन्दी पनि छ ।
तर तीन कोठामै खाना पकाएर खाने मेस, कार्यालय, सबैजना सुत्नेबस्ने गर्नुपर्ने बाध्यता छ । खुला स्थानमा नुहाउनुपर्ने बाध्यता पनि छ । प्रहरीले रेकर्ड रजिस्ट्रर र बरामद भएका काजगात जोगाउनसमेत हम्मेहम्मे परेको गुनासो गरेका छन् ।
चुहिने कोठा, हावाले उडाउने र धुलाम्मे हुने छाप्रोमा सामान सुरक्षित राख्नसमेत कठिन भएको प्रहरी सहायक निरीक्षक विनय रेग्मीले गुनासो गरेका छन् । “हामीले त समस्या भएको कुरा जाहेर गरेका छौँ, दुःखले बस्न बाध्य छौँ । चौकीबाट सडकको काममात्रै हेरेर पनि पुग्दैन ।
भकुण्डे र बलेवा क्षेत्रका केही स्थानमा हुने घटनाको समेत उनीहरुले अनुसन्धान गर्नेलगायतको काम गर्नुपर्छ । सडक दुर्घटना भएमा पहिलो सूचना ल्याउने र जिल्ला प्रहरीमा जाहेर गर्ने काम पनि उनीहरुकै हो । ती सबै काम गर्न र डाटा राख्नका लागि कम्युटरसहितको व्यवस्था हुनुपर्नेमा कागजमा लेखेरै राख्नुपरेको उनले बताए।
जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले यस विषय दुःखदायी भएको बताए । “यो विषय गम्भीर हो, पहिचान झल्काउन पनि चौकी बन्नुपर्छ”, उहाँले भन्नुभयोे, “सरकारी मान्यताअनुसारको जग्गा नपाएर चौकी बनाउन नपाइएको हो ।
सरकारी मापदण्डमा तीन रोपनी जमिन खोजेपछि मात्रै गृह मन्त्रालयले चौकी निर्माणका लागि बजेट दिने गर्छ । जग्गा नभएकै कारण बजेट माग गर्न नसकेको उनले बताए । झण्डै २५ वर्षअघि बागलुङमा नियमित सवारी साधन चल्न थालेपछि जिल्लाको प्रवेशद्वारमा प्रहरीले सुरक्षा दिन थालेको थियो ।
प्रहरीको अस्थायी बिटका रूपमा बस्न थालेको डेढ दशक बितिसक्यो । अन्यत्रका प्रहरी चौकी पक्की घरमा बसेका छन् । तारबार लगाइएको छ ।
कम्तीमा पाँचदेखि सात कोठा छन् । त्यहाँ कार्यालय प्रमुखको कक्ष, अन्य जवानको कक्ष, मेस र हतियार राख्ने कक्षसमेत छन् । रासस