म्याग्दी: बेनी नगरपालिका–७ मा चन्दा सङ्कलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो ।
खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले रु ३५ लाख चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको जानकारी दिए । “संस्थाका पदाधीकारी र सदस्यबाट जुटाएको रकमले भवन ठडयाएका हौँ । हालसम्म सरकारी सहयोग मागेका छैनौँ ।
व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ ।” झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रङ्गरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो ।
आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए । नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो । सो सभाहल सबैले प्रयोग गर्न पाउने मंकाः खलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । बेनी बजारमा सभा समारोह, भोज भतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महशुस गरी भाहल बनाएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बताए ।
यहाँस्थित होटलमा पनि सभाहलको अभाव छ । सभाहल निर्माणका लागि स्व चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्व काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराए । थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल संवत ११४२ का अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले रु तीन लाख ३३ हजार तथा तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले सभाहल निर्माणका लागि रु एक लाख १५ हजार उपलब्ध गराए । रासस