तनहुँ: कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।
भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेको छन् । मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उन उत्साहित हुनुभएको थियो । यो वर्ष उहाँले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाए ।
चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उहाँले बाँझो बारीमा सयपत्री रोप्नुभएको छ । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ । एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ ।
तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए । सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उनले सुनाए । “फूल देखेपछि हामी लैजान्छौ भनेर व्यापारीको फोन आउँछ । वर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल आउँछ भनेपछि बजार पाउन दुःख छैन ।
माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर विक्री गर्ने गरेको उनले बताए। गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उनले सुनाए । एसएलसी सकाएपछि उन वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए ।
दश वर्ष विदेशमा बसेपछि नेपाल फर्किएर केही गर्ने सोचका साथ उनले यातायात सेवा सुरु गरेका छन् । त्यसबाट खासै आम्दानी हुन नसकेपछि उनले फेन्सी पसल सञ्चालन गरेका छन् । केही समयको फेन्सी व्यवसायपछि उनले किराना पसल चलाए । हाल किराना सँगसँगै फूलखेती निरन्तर छ ।
सयपत्रीमा सम्भावना देख्नुभएका उहाँँ अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा थिए। यसपाली व्यावसायिक तरिकाले लाग्नुभएका उहाँ अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताए । रासस