कर्णाली: चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले दैनिक रु एक लाखको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताए।
चन्दननाथ सहकारीद्वारा जुम्ला सदरमुकाममा सञ्चालित मिनि मार्केटबारे जानकारी दिँदै कार्यकारी व्यवस्थापक पाण्डेले संस्थाले कर्णालीमा उत्पादित तथा सङ्कलित स्थानीय खाद्य वस्तु दैनिकरुपमा रु एक लाखको बिक्री गर्दै आएको बताए।
“सिमी, चामल, फापर, चिनो कागुनो, कोदो, जौँ, भट्टमास, गहत, गुराउँस, कलालगायतका रैथाने खाद्यबाली बिक्री गर्दै आएका छौँ । जडिबुटीमा चियापत्ती, टिमुर, जिम्बो, फलफूलमा ओखर, स्याउ र स्थानीय पहिरनमा खरायो र ऊनको टोपी बिक्री वितरण हुने गरेको उनले बताए ।
अहिले संस्थाले प्रति केजी क्रमशः कालो सिमी रु १८०, रातो र मिश्रित सिमी रु १६०, मार्सी चामल रु १६०, चिनो, कागुनो र भट्टमास कालो रु २००, फापरको पिठो, गुराउँस र गहत रु २५० बिक्री गरिँदै आएको उनको भनाइ छ ।
उक्त संस्थामार्फत स्थानीय उत्पादन, राडीपाखी, लिउ, खरायो तथा उनको टोपी, कोट, झोलालगायत सामान पनि बिक्री हुने गरेका छन् । स्थानीयस्तरमा उत्पादित ती सामानको प्रति थान रु एक हजार ३०० देखि आठ हजार ५०० मूल्य पर्ने जनाइएको छ ।
संस्थाले यस वर्ष सबै गरेर रु ५० लाखको रैथाने खाद्यबाली सङ्कलन गरी बिक्री वितरण गर्ने लक्ष्य राखेको व्यवस्थापक पाण्डेले बताउनुभयो । कात्तिक लागेसँगै मार्सी चामल र सिमीको खरिद बिक्रीले बजार लिन थालेको छ ।
सुपथ पसलका व्यापारीका साथै भित्री मधेश तथा तराई झर्नेहरुले मार्सी चामल र सिमी किसानबाट किन्ने क्रम बढेको छ । मुगुको राराताल हेर्ने पर्यटक जुम्ला भएर जाँदै गर्दा मार्सी चामल र सिमी लिने गरेको उक्त सहकारीले जनाएको छ ।
“अन्तर जिल्लाबाट आउने पर्यटकमा सबैभन्दा बुटवल, चितवनका पर्यटकले मार्सी चामल र सिमी लिँदै आएका छन्,” व्यवस्थापक पाण्डेले भन्नुभयो । मार्सी चामल र सिमीको माग बढ्दो भएकाले पूर्ति गर्न धौ–धौ भएको उनले जनाए ।
यसपालिको प्राकृतिक विपत्तिले मार्सी चामल र सिमीलगायत बालीमा क्षति पुर्याएको कारण उत्पादन निकै घट्दो अवस्थामा गएको छ । यसले गर्दा पनि माग अनुसारको पूर्ति गर्न समस्या भइरहेको छ । कार्यकारी व्यवस्थापक पाण्डेका अनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका २० हजार शेयर सदस्यमध्ये १२ हजार गाउँकै छन् ।
ती १२ हजार शेयर सदस्यबाट उत्पादित रैथानेबाली सङ्कलन कार्यलाई तीव्रता दिइएको र त्यसले बजारको माग पूर्ति तथा शेयर सदस्यको आम्दानीमा सहयोग र बिक्री वितरण सहज भएको उनले बताए । रासस