सप्तरी: कञ्चनरुप नगरपालिकामा आज साहित्यिक गोष्ठी गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती मनाइएको छ ।
सप्तरीको कञ्चनरुप, सप्तकोशी र राजविराज नगरपालिका तथा उदयपुरका सहित्यकारले देवकोटाको चर्चा र रचनावाचन गरेर देवकोटाको जन्मजयन्ती मनाएका हुन् ।
सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा भएको गोष्ठीमा नन्दलाल आचार्य, मेघराज पौडेल, मनोहर पोखरेल, शम्भु कार्की, ईश्वरीप्रसाद नेपाल, मान्सी मनोहर, सुजता बुढाथोकी, दिनीशा कटुवाल, अञ्जली कटुवाल, कृतिका न्यौपाने, प्रज्ञा कोइराला, विपाशा चौधरी, सुमित्रा परियार, प्रतिक विष्टले कविता र गजल वाचन गरेका छन् ।
प्रलेस सप्तरीका उपाध्यक्ष मेघराज पौडेलको अध्यक्षता र कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्त मिश्रको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्वागत सर्वोदय माविका प्रधानाध्यापक तारानन्द मल्लिकले गरेका थिए ।
सो अवसरमा नगरप्रमुख मिश्रले अलौकिक प्रतिभाका धनी महाकवि देवकोटाले नेपाली साहित्यलाई विश्वमा परिचित गराउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै साहित्यिक पुस्तकालय निर्माण र जिल्लास्तरको प्रतियोगितात्मक साहित्यिक कार्यक्रममा सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।
अब नगरपालिकाको ध्यान कोभिड– १९ बाट सबैभन्दा बढी प्रभावित बनेको शिक्षा क्षेत्रमा जाने बताए । यसैगरी सप्तकोशी नगरपालिका नगर प्रमुख उत्तम गौतमले महाकवि देवकोटा विशिष्ट साधक भएको बताउँदै महाकवि देवकोटाको योगदानलाई चीरस्थायी राख्न र सप्तरीमा साहित्यिक गतिविधिलाई प्राथमिकता दिन सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेल, सचिव नन्दलाल आचार्य, प्राध्यापक विश्वराज खतिवडा, पूर्व प्रधानाध्यापक तीर्थराज उपाध्याय, शिक्षक नारायण खडकालगायतले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै देवकोटा नेपाली साहित्यका विशिष्ट साधक तथा विराट र शिखर प्रतिभा भएको धारणा व्यक्त गरेका छन्।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दस वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका थिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो । रासस