पोखरा: सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक रु १५ लाखका दरले १० वर्ष सहयोग गरेको छन् ।
सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी , छोराहरू प्रकाश, किरण र रोशन केसीका उपस्थितिमा सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नामसमेत परिवर्तन गरिएको छ ।
क्लबसँग १० वर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौताअनुसार केसी परिवारले एकेडेमीका लागि वार्षिक रु १५ लाख दिने सहमतिपत्रमा उल्लेख छ । सम्झौता आदान–प्रदान कार्यक्रममा युवा उद्योगपती प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले पनि परिवारले एकेडेमीको सञ्चालनका लागि सम्झौता गरेको बताए ।
हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुवाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको जनाए । अर्का छोरा रोशनले आफ्नो बुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जीवन्त बनाइराख्न सहारा एकेडेमीसँग जोडिएको बताए ।
सो अवसर उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहयोगदाताका भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलोपटक ठूलो राशिको सहयोग केसी परिवारले गरेको हो ।
एकेडेमीमा १४ जिल्लाका २४ कठिन परिस्थितिका बालक आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले जानकारी दिए । सहयोगबाट उनीहरुको शिक्षा, दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो ।
एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको २०औँ संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटबल प्रतियोगिताको मुख्य प्रयोजनसमेत गरेको छ । सहारा क्लबले आफैँले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ । रासस