महोत्तरी: दीपावली पर्वको मुख्य दिन आज लक्ष्मीपूजाको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्रमा एकाबिहानैदेखि चहलपहल बढेको छ ।
यस भेगका प्रत्येकजसो बजार केन्द्रमा आज बिहानैदेखि नै केराका थाम (बोट)को बजार लागेको छ । दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर, बस्तीका चोकचोकमा केराका थामको बजार जमेको हो ।
पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थामबाट बनाइने परम्परा भएको हुँदा मिथिला क्षेत्रमा यो पर्व विशेषमा केराका थामको निकै महत्व हुने गरेको छ । केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी प्रशन्न हुँदै गृह प्रवेश गर्ने मैथिल हिन्दूका जनविश्वास छ ।
पर्वका अवसरमा थामको बजार आज बिहान जमे पनि मिथिलामा यसको खोजी केही पहिलेदेखि नै हुने गरेको छ । खासगरी व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजाकै दिन थाम पाइने÷नपाइने दुविधाले एक साता पहिलेदेखि नै अग्रिम पेश्की दिएर सुनिश्चित गरेका पाइएको छ ।
भङ्गाहा–४ रामनगरका केराखेती गर्ने किसान सत्यनारायण यादवले यसपालि ३५ हजारको थाम बिक्री भएको बताउनुभयो । पर्व विशेषमा जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पुर्याएका छन् ।
खर्चबर्चका अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराको भनाइ छ । दीपावली पर्वमा एकजोडा केराका थाम ४०० सम्म बिक्री हुने गरेका किसानको भनाइ छ ।
पर्व सुरु हुनुअघि नै आफ्नो करिब १० कठ्ठा क्षेत्रफलमा लगाइएको केराका बोटको नयाँ कोथा बेचेर ३० हजार लिइसकिएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोेले जानकारी दिए ।
खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आफुहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसानको धारणा छ ।
केराका झ्याङ्मा एउटा बोटमा तीन वटाभन्दा बढी भएका कोथा छाँट्नैपर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्” गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहा भने छाँट्नुपर्ने कोथालाई हामी दीपावली पर्खन्छौँ ।
यस पर्वमा कोथाबाट नै अतिरिक्त आम्दानी हुने भएको हुँदा बेला कुर्ने गरिएको कुशवाहाको भनाइ छ । मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरूपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् ।
वैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृतिका ज्ञाता जिल्ला सदरमुकाम जलेश्वर–८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठकले बताए । दीपावली र छठपर्वसमेत जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत लाखौँको कारोबार भएको महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
यसपालि एक साताअघि नै थामसँगै पर्वविशेषकै लागि घरीको समेत खरिद बिक्री सुरु भएको हुँदा कारोबार रकम अझै बढ्ने छाँट देखिएको सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता बताए ।
जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल वर्षेनी बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।रासस