कञ्चनपुर: बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले गैरखाद्य, स्वास्थ्य, सरसफाई सामग्रीसँगै नगद वितरण गरेको छ ।
वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नं १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट र रेडक्रस उपशाखा झलारीका सभापति शेरबहादुर साउदले संयुक्त रुपमा राहत सामग्री वितरण गरेका छन् ।
वितरण गरिएको सामग्रीमा त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा, बच्चाका कपडा, रुमाल, बाल्टी, डोरी, डिग्नी किट, हाइजेनिक किट, हेल्थ किट, झुलसँगै पानी सुद्धिकरण गर्ने क्लोरिन ट्याबलेटलगायत रहेका छन ।
राहत सामग्री वितरण गरिएका परिवारलाई घर मर्मत गर्न, काँटा किलाको व्यवस्था गर्न र शौचालय मर्मतका लागि नगद रकम समेत बैंक खातामार्फत उपलब्ध गराइएको शाखाका कोषाध्यक्ष भट्टले जानकारी दिए । “भदौ १३ गते आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री उपलव्ध गराएका छौं ।
जिल्लाका बाढीबाट प्रभावित भएका २७८ परिवारको अनुसन्धान गरी त्यसबाट छनोट गरिएका १५० परिवारलाई राहत सामग्रीका लागि छनोट गरेका छौं । छनोटमा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराएका छौं ।
राहत वितरणका लागि छनोटमा परेका पुर्नवास नगरपालिकाको सिमरीका ११४ परिवारलाई समेत गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्रीसँगै नगद राहत वितरण गरिने उनले बताए । सिमरीका बाढी प्रभावित परिवारलाई नगद राहत सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै राहत सामग्री वितरण गरिने बताए ।
राहत दिनैपर्ने अवस्थाका ४० परिवारलाई रु १३ हजार ५०० का दरले घर मर्मतका लागि, ४० परिवारलाई रु दुई हजारका दरले किलाकाँटाका लागि र १० परिवारलाई शौचालय मर्मतका लागि नगद सहयोग उपलब्ध गराइएको छ ।
गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्री अन्तर्गत बाढी प्रभावितलाई एनएफआरई १०० थान, डिग्नी किट ३० थान, हाइजेनिक किट १०० थान र क्लोरिन ट्याबलेट ६० हजार वितरण गरिएको छ ।
यही कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट प्रभावित तत्काल राहत उपलव्ध गराउनुपर्ने २५० दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका परिवारलाई गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्री समेत रेडक्रसले वितरण गरेको छ ।
“बेमौसमी वर्षाबाट प्रभावित परिवारको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ” उहाँले भन्नुभयो, “विवरण सङ्कलन भइसकेपछि राहत वितरणको अगाडि बढाइने छ ।रासस