सिमकोट : हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका सेवाग्राहीहरुलाई नागरिकता लगायतका अन्य सेवा लिन सहज भएको छ । सेवा प्रवाहका लागि पाँच वर्ष अगाडी स्थापना भएको इलाका प्रशासन कार्यालय नियमित रुपमा सञ्चालनमा आएपछि कार्यालयबाट लिनुपर्ने सेवा सहज भएको हो ।
ताँजाकोट गाउँपालिका– २ छप्कीलाल खड्काले तीनदेखि चार दिन हिँडेर लिनु पर्ने नागरिकता पाँच घण्टामा लिन सकिने भएको जानकार दिए । यसअघि सदरमुकाम सिमकोटको प्रशासन कार्यालयबाट लिनु पर्ने नागरिकता सर्केगार्ड गाउँपालिकामा स्थापना भएको इलाका प्रशासन कार्यालय कामु कार्यालय प्रमुख आएपछि सेवाग्राहीलाई सहज भएको हो ।
बिहान घरबाट आएर नागरिकता बनाएर घर फर्कन सम्भव भएको हो । यसअघि उनले एक हप्ताको समयमा नागरिकता लिन पाइने बाध्यता रहेकोमा अब त्यो दुःख हटेको बताए ।
कार्यालय प्रमुखको व्यवस्था नहुँदा समय र मौसम हेरेर मात्र नागरिकता लिन जानु पर्ने अवस्थाको अन्त्य भएको बताउँदै उनले एक दिनमा र दैनिक रुपमा सेवाग्राहीलाई नागरिकता लिन सकिने व्यवस्थाले निक्कै राहत पुगेको बताए ।
कार्यालय प्रमुख भिमबहादुर रोकायाले आफु कार्यालयमा कामुका रुपमा हाजिर भइसकेपछि दैनिक रुपमा नागरिकता, नावालक परिचयपत्र र प्रतिलिपि लिने पच्चीस भन्दा बढी सेवाग्राही आउने गरेको बताए ।
यसबाट चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज भएको बताउँदै उनले समय पनि बचत र आर्थिक रुपमा पनि कम खर्च हुने गरेको जनाए ।
आफु कार्यालयमा काम गर्न थालेयता तीन सय भन्दा बढी नागरिकले सेवा पाइसकेको बताउँदै उनले दुरदराजका नागरिक यसबाट लाभान्वित भएको बताए । कार्यालयले आवश्यकता र कामको प्रकृति हेरी रातको समयमा पनि सेवा प्रदान गर्ने गरेको छ ।
त्योसँगै अपांगता भएका, वृद्धवृद्धा, एकल महिलाहरुले आफ्नो सेवा पाउनबाट यसअघि बञ्चित हुँदै आएकोमा अहिले भने सहज रुपमा पाउन थालेका छन् यसअघि कार्यालय प्रमुखको व्यवस्था नहुँदा नागरिक लिनका लागि आबश्यक पर्ने अनुसूचि भरेर सिमकोट पठाउने र उताबाट नागरिक तयार गरेर आएपछि मात्र सेवाग्राहीले पाउने गर्थे ।