चितवन: सरकारी र निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको यहाँको चितवन–चनौली शीतभण्डार सञ्चालनको तयारीमा पुगेको छ ।
भरतपुर महानगरपालिका–१८ शीतभण्डार निर्माण गरिएको हो । संस्थाले ७ कठ्ठा जमिन खरिद गरेर विसं २०७० वैशाख २७ गते बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । संस्थाका अध्यक्ष सूर्यमणि पौडेलका अनुसार सुरुमा भवन रु आठ करोड ७७ लाखमा निर्माण सम्झौता गरिएकोमा नक्साङ्कन परिवर्तनसँगै रु दुई करोड रकम थप भएको थियो ।
भवनमा रु दुई करोड ४२ लाखको उपकरण जडान गरी परीक्षण सम्पन्न गरिएको छ । उनका अनुसार ट्रान्सफरमर र लिफ्टबाहेक अन्य काम सम्पन्न भएको छ । दुई हजार ५०० मेट्रिकटन क्षमताको यस शीतभण्डार आउँदो पुसबाट व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
शीतभण्डारको क्षमताको आधा भागलाई व्यावसायिक रुपमा प्रयोगमा ल्याइँदै छ भने बाँकीलाई शेयर सदस्य र किसानलाई सर्वसुलभ रुपमा दिइने छ । संस्थामा ८७९ जना शेयरधनी रहेका छन् । शेयर पूँजी रु ६ करोड ७५ लाख र सरकारी अनुदान रु ६ करोड १४ लाख प्राप्त भएको उनले जानकारी दिए ।
सहकारी विभागले रु ५ करोड ४८ लाख, बागमती प्रदेशले रु ५८ लाख ५९ हजार र भरतपुर महानगरपालिकाले रु ४ लाख ८३ हजार सहयोग गरेको छ । सहकारी विभागबाट सम्झौता भए अनुरुपको थप रकम आउन बाँकी रहेको पौडेलको भनाई छ । संस्थाले शेयर पुँजी रु १० करोड पुर्याउने लक्ष्य लिएको छ ।
केही साना शेयरधनीलाई रकम थप गर्न लगाएर रु एक लाख देखि सात लाखसम्मको शेयर बनाउने योजना बनाइएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले यो शीतभण्डार सञ्चालनमा आएसँगै चितवन र छिमेकी जिल्लाका किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।
किसानले मूल्य नपाएर आफ्नो उत्पादन सस्तोमा बिक्री गर्नुपरेको र कतिपय समयमा फाल्नुपर्ने बाध्यता रहेको भन्दै उनले यसले ती किसानलाई लाभ पुग्ने बताए । सरकारले आवश्यक सहयोग गरेर न्यून शुल्कमा भण्डार गर्ने व्यवस्था मिलाउनु पर्छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे देशको सम्वृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको भन्दै यस्ता शीतभण्डारले किसानको उत्पादनले बजार र उपयुक्त मूल्य पाउने बताउनु हुन्छ ।
कृषकले लागत मूल्य समेत नपाउँदा विदेशीनु परेको भन्दै उनले सरकारले शीतभण्डार सञ्चालनमा सहयोग गरेर सर्वसुलभ रुपमा भण्डारणको व्यवस्था मिलाउनुपर्ने बताए ।
प्रविधिको विकास गरी कम लागतमा धेरै उत्पादन गरेर बजारको अवस्था हेरी भण्डारण र बिक्री गर्न उनले सुझाव दिए ।रासस