लमजुङ: बाँदर लड्ला जस्तो भिरको बीचमा बनाइएको सडकमाथि ठूला ठूला पहाड । तल मस्र्याङ्दी नदी । यी बीचमा ठूला चट्टान खोपेर बनाइएको साँघुरो सडक ।
आङ सिरिङ हुने भिर । यिनै भिर भएरै निर्माण गरिएको छ, हिमालपारीको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडक । साँघुरो कच्ची सडकमा सधैँ जोखिम मोलेर यात्रा गर्नुपर्ने हुन्छ ।
ठाउँ–ठाउँमा गएको पहिराका कारण यात्रा झन कठिन बनेको छ । जोखिम मोलेरै लमजुङ मनाङ आवातजावत गर्न स्थानीयवासी बाध्य छन् । जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजना अनुरुप २०५१ सालमा सडक डिभिजन कार्यालय दमौलीले निमार्ण सुरु गरेको थियो ।
सडक निर्माणको जिम्मा २०५७ सालदेखि नेपाली सेनाले पाएको हो । सेनाले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेला बेलामा पहिराका कारण सडक भतिकँदा यात्रुले ज्यानको बाजी राखेर हिमालपारीको यात्रा गर्दै आएका छन् ।
सहज रुपमा यात्रा गर्न सकिएको छैन । हालसम्म सडक व्यवस्थित र कालोपत्र हुनसकेको छैन् । मनाङका स्थानीयवासी आशिष परियारले भने यस सडक हुँदै यात्रा गर्दा घर फर्किन सकिन्छ की सकिन्न भनेर डर लागिरहन्छ ।” बाढीपहिराले बर्सेनि ठाउँ–ठाउँमा सडक छियाछिया बनाउदा जीर्ण बन्दै गएको छ ।
बेँसीशहर–चामे सडकको लम्बाइ ६५ किलोमिटर छ । लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर लामो दूरीको सडकमा मस्र्याङ्दी नदीबाट तीन सयदेखि एक हजार २०० फिटमाथि हुँदै सवारीसाधान गुड्छन् । यात्रा नसकिञ्जेलसम्मै यात्रु डराइडराई मनाङ पुग्ने गर्दछन् ।
“विभिन्न ठाउँमा बेला–बेलामा पहिरो गइरहन्छ, पहिलाको भन्दा पनि बाटो बिग्रिदै गएको छ”, जीप चालक सोम मगरातिले भने “कुन बेला के हुन्छ । हामी जस्ता सधैँ यही सडककमा सवारी गुडाउने चालकलाई डर रहन्छ ।
बेँसीशहर चामे सडक स्तरोन्नतिका लागि सरकारले बर्सेनि करोडौँ रुपैयाँ खर्च गर्ने गरेको छ । उपलब्धि भने बालुवामा पानी हाले जस्तो भइरहेको छ । रासस