सोलुखुम्बु: जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बन्नुभएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ ।
मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता बन्नुभएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो । सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका थिए ।
यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उहाँ बेपत्ता बन्नुभएका थियो । उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ । एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन् ।
उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । अन्य तीनजनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन् ।
खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए । बेपत्ता बन्नुभएका अविवाहित शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ ।
उहाँका साथमा एकजना भाइ रहनुभएको छ । भाइको समेत गत वर्ष मात्रै मिर्गाैला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ । छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ ।
गाइडका साथमा जानुभएका शेर्पासँग हिमाल आरोहणसम्बन्धी आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिन्छ । रासस