काठमाडौं: विश्वसम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियान पाचौँ हप्तामा प्रवेश गरेको छ ।
पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोजदेखि सुरु भएको थियो । सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेलसहित वाग्मती सफाइ अभियानकर्मी जोडिएका थिए ।
यसैगरी अभियानकर्मी डा राजु अधिकारी, चक्रबहादुर चन्द, चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कलाकार तथा सफाइ अभियानकर्मीको उपस्थिति थियो ।
पशुपतिनाथ परिसरलाई सफा र स्वच्छ राख्न हरेक बिहान ८ बजेदेखि पशुपति सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ । पाशुपत क्षेत्रलाई सफा राख्न साङ्केतिकरुपमा सरसफाइ हुने गरेको स्वच्छ पशुपति अभियानका संयोेजक डा श्याम खड्काले बताउनुभयो । पूर्वमुख्यसचिव पौडेलले पशुपति स्वच्छ अभियानको निरन्तरताका लागि शुभकामना दिए ।
मन र भावनाले मात्र यस्तो कार्य गर्न सकिने हुँदा सम्पूर्ण अभियानकर्मीलाई उहाँले धन्यवाद दिए । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले वाग्मती सफा भएमात्र पशुपतिनाथको शोभा बढ्ने हुँदा वाग्मतीलाई ढलमुक्त गर्नुपर्ने र यसका लागि नीतिनियम बन्दै गरेको पनि जानकारी दिए ।
सरसफाइ अभियानकर्मी डा राजु अधिकारी र चक्रबहादुर चन्दले पनि स्वच्छ पशुपति अभियानको अभियानकर्मी भई हरेक हप्ता सहभागी हुने प्रतिबद्धता जनाए । चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काले कलाकार पनि निरन्तर यस अभियानमा साथ रहने प्रतिबद्धता जनाए ।
‘हाम्रो आस्था सम्पदा र संस्कृति, सभ्य नागरिक, स्वच्छ पशुपति’ नारा दिएको पशुपति स्वच्छ अभियानमा पशुपति क्षेत्र विकास कोषले समय र सहयोग गरिहेको छ ।
पशुपतिनाथलाई सफा र स्वच्छ राख्न कोषकोतर्फबाट योेजना र नयाँ तरिकाबाट काम भइरहेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । रासस