काठमाडौँ: अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो । “हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेशनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौँ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने अब दुहबी सबस्टेशनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेका छौँ ।” प्रदेश नं १ का जिल्लामा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको थियो ।
सबस्टेशन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत् आपूर्ति सुरु भइसकेको छ । उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले जानकारी दिए । सबस्टेशनमा रहेका चारवटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।
यसैगरी वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ ।
अवरोधलाई हटाएर आजदेखि प्रसारण लाइन सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामापर्ने अधिकांश भागमा विद्युत् आपूर्ति पुनः सुरु भएको छ । रासस