कर्णाली - पश्चिमी वायुको प्रभावले आइतबारदेखि सुरु भएको वर्षाका कारण भेरी र कर्णाली नदीमा बाढी आउन सक्ने चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको छ । आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै विभागले भेरी र कर्णाली नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने चेतावनी दिएको हो ।
विभागको बाढी पूर्वानुमान महाशाखाले असोज ३१ रातीदेखि कार्तिक ३ सम्म भेरी, कर्णालीसहित महाकाली, सेती लगायतका नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको हो ।
‘भेरी, कर्णाली, महाकाली, सेती, र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराई भई बहने स–साना नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने छ’ महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कर्णाली, नारायणी, कोशी, तिनाउ, कन्काई नदी तथा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश, प्रदेश १ को मध्यपहाड, चुरे र तराई भई बहने स(साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब बढ्न सक्ने पूर्वानुमान रहेकाले उल्लेखित नदीहरुका तटीय क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनहुन अनुरोध छ।’
जलवायु परिवर्तनका कारण मनसुन बाहिरिएपनि नेपालमा भारी वर्षा भएर बाढी आउने गरेको छ ।
