काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरे । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन । उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आह्वान समेत गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आफ्ना हात सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्वपूर्ण कार्य हो, हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्वभर कैयौँ मानिसले मृत्युवरण गर्नु परेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ ।”
राष्ट्रपति भण्डारीले सो सन्देशमा हाल विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरससमेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपाय मध्ये हातको सरसफाइ पनि एक भएको उल्लेख गरेकी छन् ।
सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा हामीले विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौँ । यस वर्षको विश्व हात धुने दिवसको मूल विषय ‘हाम्रो भविष्य हाम्रै हातमा छ, हामी सबै एक साथ अगाडि बढौँ’ भन्ने रहेको छ । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
“वर्तमान अवस्थामा हातको माध्यमबाट कोरोना भाइरसको सङ्क्रमण मुख र नाकसम्म जान नपाओस् भनेर बारम्बार हात धुनुपर्ने हुन्छ । कोभिड–१९ को सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकार‚ निजी क्षेत्र र विभिन्न सङ्घ–संस्थासँगको समन्वयात्मक कार्यलाई निरन्तरता दिनु पर्दछ”, सन्देशमा भनिएको छ ।