वीरेन्द्रनगर : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी ‘विजयादशमी, २०७८’को शुभकामना दिएका छन् । उनले विहिबार एक शुभकामना सन्देश जारी गर्दै कर्णालीवासी लगायत सम्पुर्णमा शुभकामना व्यक्त गरेका हुन् ।
‘हिन्दूहरूको महान् चाड ‘विजयादशमी, २०७८’को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु’ उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘विजयादशमी पर्व असोज शुक्ल प्रतिपदा घटस्थापनादेखि नवमीसम्म नवदुर्गा भवानीको पूजा अर्चना र आराधना गरी मनाउने परम्परा रहिआएको छ । विजया दशमीको दिन देखि असोज शुल्क पूर्णिमा सम्म नवदुर्गा भवानीले असत्य माथि सत्यले विजय हासिल गरेको दिनको उपलक्ष्यमा विजयको प्रतीक स्वरूप मान्यजनको हातबाट टीका, जमरा, फूलपाती र आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।’
बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता रहेको हाम्रो समाजमा विजयादशमीलगायतका चाडपर्वहरूले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता थप बलियो बनाउन मद्दत पुग्ने भएकाले यिनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व भएको प्रमुख कलौनीको भनाइ छ ।
यस्ता सांस्कृतिक महत्त्व बोकेका चाडपर्वहरूलाई देखावटी पनमा जोड नदिई यिनको मौलिकता जोगाइ राख्ने ढंगले मनाउन सबैमा आग्रह समेत गरेका छन् ।
महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमण अझै हटि नसकेकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी विजयादशमी पर्व मनाउन कलौनीले आग्रह समेत गरेका छन् ।
