काठमाडौँ : देशमा करिब २० प्रतिशत शिल्पी समुदायको शिक्षा क्षेत्रमा विशेष काम गर्दै आएको सरकारी निकाय उपेक्षित उत्पिडित तथा दलित वर्ग उत्थान विकास समितिलाई केपी शर्मा वली नेतृत्वको सरकारले निष्क्रिय बनाइएको हो ।
शिल्पी समुदायको शैक्षिक क्षेत्रमा विशेष सक्रिय रहेकोले समितिलाई यथाशीघ्र सक्रिय बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई राष्ट्रिय समितिले विशेष ध्यानाकर्षण गराएको हो ।
जसपा नेपालका केन्द्रिय कार्यकारी सदस्य समेत रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन नवनियुक्त मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ सोमबार मन्त्रालयको सभाहलमा प्रत्यक्ष भेटघाट गरी बधाई तथा शुभकामना दिने क्रममा जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी नेतृत्वको टोलीले सो कुराको माग राखेको हो ।
उनका अनुसार जसपा नेपालको अवधारणा अनुसार पहिचानमा आधारित ११ राष्ट्रिय समितिहरूमध्ये शिल्पी विशेष राष्ट्रिय समिति पनि एक हो । भेटका क्रममा समितिका तर्फबाट अध्यक्ष दलमर्दन कामीले पाँच बुँदे माग राखिएका समितिका मुख्यसचिव डीबी नेपालीले जानकारी दिए ।
समितिले राखेको मागहरुः
१. नेपाल सरकार, उपेक्षित उत्पिडित दलित वर्ग उत्थान बिकास समितिलाई यथाशीघ्र पुर्णता दिइ सक्रिय गराउनुपर्ने ।
२. नेपाल सरकार, बादी बिकास बोर्डलाई पुर्णता दिइ सक्रिय गराउनुपर्ने ।
३. शिल्पी तथा दलित समुदायको आर्थिक, सामजिक र शैक्षिक बिकासको लागि एउटा शक्तिशाली प्राधिकरण वा परिषद् को रूपमा छुट्टै निकाय गठन गरिनुपर्ने।
४. राज्यका विभिन्न निकाय र तहहरूमा राजनीतिक नियुक्ती गरिँदा शिल्पीरदलित समुदायको सहभागितामुलक उपस्थिती सुनिश्चित गरिनुपर्ने ।
५. स्थानीय निकायमा जाने बजेट बिनियोजित गर्दा निश्चित प्रतिशत शिल्पीरदलित, सिमान्तकृत, विपन्न, पिछडिएको क्षेत्र र महिलाको लागि अनिवार्य गरिनुपर्ने । जस्ता समुदायसँग प्रत्यक्ष जोडिएको माग र मुद्दाहरू सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कार्यलय सिंहदरबारमा मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ संग माग राखिएको हो।
प्रस्तुत माग र मुद्दामा मन्त्री श्रेष्ठले सकारात्मक रहेको र आफूले सक्दो पहल गर्ने बताएको भेटमा सहभागी नेता केशव बादी नेपाली बताएका छन । भेटमा सहभागी अन्य नेताहरूमा राम बहादुर मिजार, रमेश विश्वकर्मा, बिरेन्द्र ठाकुर, केशव बादी नेपाली, महेन्द्र बहादुर राई, रमेश लावती, गोमा परियार लगायतको उपस्थिती थियो ।