कर्णाली : मुगुको खत्याड गाउँपालिकामा महँगी बढ्दै गएको छ । दसैँ नजिकिदै गरेको बेला उपभोग्य वस्तुको मँहगी बढ्दै गएको छ । खत्याडमा यातायात सञ्चालन भएको वर्षौ वित्यो, खत्याडवासीलाई यातायात सञ्चालनले पनि महँगी रोक्न सकेको छैन ।
स्थानीयका अनुसार, दसैँ नजिकै गर्दा तेल, नुन चामल चिनीको मुल्य वृद्धि हुँदै गएको हो । तोरीको तेल एक प्याकेट एक सय ३५ देखि एक सय ४० सम्म पर्ने गरेको छ ।
धारा तेल (सानोमा) को मुल्य एक सय ८० भन्दा बढी पर्ने गरेको छ । १५ सयले भर्ने ग्यास यतिबेला तीन हजारले भर्ने गरेको स्थानीयले बताए । यी सामान मात्रै होइनन, खत्याडमा महँगीका कारण अन्य खाद्य वस्तुको मुल्य समेत बढिरहेको छ ।
रामतडिका व्यापारी लोकेन्द्र भण्डारीका अनुसार, सडकको अवस्थाले खाद्य वस्तु लगायत उपभोग्य समानको मूल्य वृद्धि भएको अवस्था हो । उनले भने, ‘सडक भत्केको छ । बाटोमा सामान ल्याउन गाह्रो छ । धेरै भाडा तीनुपर्ने अवस्था छ । त्यसकारण मृल्य वृद्धि हुन पुगेको हो ।
सडकको अवस्था हेर्दा हप्तामा एक गाडी सामान आउने गरेको छ । महँगीबीचमै पनि सामान टिपाटिप हुने गरेको उनको भनाइ छ । महँगीकै कारण अन्य खाद्य वस्तु बजारमा पाउनै छोडेको छ । यता जुम्लाबाट आउने एक छोटो बाटो पानलौटी सडक हो । उक्त सडक पनि वर्खायाममा हिलोले बन्द हुने गरेको छ । भने, हिउँदमा हिमपातले ।
गाउँपालिकाले बारम्बार मर्मत गरेपनि सडक अवरुद्ध भइरहने गरेको छ । त्यसमाथि उपभोग्य सामग्री आउन दिनौं लाग्ने गरेको छ । भाडादर पनि बढिरहेकोका कारण खाद्य वस्तु लगायत अन्य सामग्रीमा मुल्य वृद्धि भएको खत्याडका व्यापारको दाबी छ ।