कञ्चनपुर: भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो ।
नगरपालिका क्षेत्रमा रहेका घरको पहिचान सहजै गर्न मेट्रिक विधिमा आधारित रहेर घर नम्बर राख्न सुरु गरिएको छ । सडकका चोक, सार्वजनिक स्थानलगायत निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउने विधि नै मेट्रिक घर नम्बर प्रणाली भएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बर राख्ने कार्यको सुरुआत गरिएको जनाउँदै उहाँले घर पत्ता लगाउने कार्यसँगै नगरवासीका समस्या पहिचान गर्नमा समेत यस कार्यले सघाउ पुर्याउने बताए।
मूल सडक, चौराह, दोबाटोदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिनेछ”, उहाँले भन्नुभयो, “सेवा सुविधा प्रदान गर्न, समस्या पत्ता लगाउन र घर खोज्न यस कार्यले सघाउ पुर्याउँछ ।” यस कार्यले सुझाव सङ्कलन एवं अन्य विविध क्षेत्रका कामकाज गर्न पनि सहज हुने उनको भनाइ छ ।
मूल सडकबाट घरसम्मको दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटाको नाम उल्लेख गरी घरघरमा नम्बरप्लेट राख्ने कार्य भइरहेको छ । नगरपालिकाका १९ वटै वडामा मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बरसहितको प्लेट राख्ने कार्य गरिने छ । सो नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकसित गर्नसमेत यस प्रणालीले सघाउ पुर्याउने बताइएको छ । रासस