सिमकोट : संघीय सांसद रंगमती शाही नेपाल र चीनको सीमास्तम्भ रहेको लाप्चा क्षेत्रतर्फ लागेकी छन् । लोलुङजोङमा चीनले निर्माण गरेको भौतिक संरचना र १२ नम्बर सीमास्तम्भको स्थलगत अवलोकन गर्न शाहीको टोली लाप्चा लागेको हो ।
सांसद शाही पाँच हजार मिटर अग्लो क्षेत्र लाप्चामा पहिलो पटक पुग्न लागेकी हुन् । सो क्षेत्रमा चीनले एकतर्फी रुपमा पूनःनिर्माण गरेको १२ नम्बर सीमास्तम्भ रहेको छ । भने, अर्को चिनियाँ पक्षले भौतिक संरचना निर्माण गरेको लोलुङजोङ पनि सो क्षेत्रमा पर्छ ।
स्थानीय बासिन्दासँगको कुराकानी र समाचारमा बाहिर आएका सुचनाका आधारमा यसअघि सांसद शाहीले चीनले सिमा अतिक्रमण गरेको कुरा सार्वजनिक रुपमा बोल्दै आएकी थिइन् ।
यस पटक आफै स्थलगत रुपमा पुगेर सत्य तथ्य बुझ्ने प्रयासका लागि त्यसतर्फ लागेको बताइन् । उनी पैदल मार्गबाट त्यसतर्फ लागेकी छन् ।
पहिलो कुरा नेपालीले पहिलो सडक निर्माण गरेको क्षेत्रमा चीनले भौतिक संरचना निर्माण गर्नु र सीमास्तम्भ जस्तो कुरालाई एकतर्फी निर्माण गर्नु आपत्तीको विषय भएको शाहीले बताइन् ।
लाप्चामा देखिएको अवस्थाबारे आफुले पनि सार्वजनिक गर्ने उनले बताइन् । लिमीका स्थानीयसँग सांसद शाहीले छलफल गर्ने बताइन् ।
सो क्षेत्रको विवादबारे नेपाल सरकारले गठन गरेको सरकारी टोली केही समय अगाडी पुगेर फर्केको थियो । गृहमन्त्रालयका सह–सचिव जयनारायण आचार्यको टोलीले आफ्नो प्रतिवेदन समेत मन्त्रालयलाई पेश गरिसकेको छ । तर, प्रतिवेदनबारे कुनै कुरा सार्वजनिक भएको छैन ।