सुर्खेत : दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिका–८, ९, १० र ११ र १३ वडामा रहेका विपन्न करिब एकसय जनालाई खाद्यान्न सहयोग गरेको छ ।
बुधबार दलित महिला संघका अध्यक्ष मन्जु सुनार, भेरीगँगा नगरपलिका—११ का वडाअध्यक्ष तिलकराम डाँगी, संघका सचिव खगिसरा वली, कार्याक्रम संयोजक सीता नेपालीलगायतको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको हो ।
खाद्यान्न दलित, अपांगता भएका, गर्भवती, एकल महिला, ज्येष्ठ नागरिक तथा कोभिडबाट प्रभावित भएका अति विपन्नलाई सहयोग गरिएको संघका अध्यक्ष सुनारले जानकारी दिइन् ।
कोभिडबाट प्रभावित भएका तथा अति विपन्न परिवार र त्यसमा पनि दलित महिलाहरुलाई चाडपर्वको मुखमा थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको अध्यक्ष सुनारले बताइन् ।
उनका अनुसार यसअघि पनि वीरेन्द्रनगर नगरपालिका—१ मा दलित महिलाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरिएको थियो । दलित महिलाहरुको मानवअधिकार परियोजना अन्तर्गत भेरीगंगामा गठन भएको समूहमा आवद्धहरुलाई उक्त सहयोग गरिएको संघका सचिव खगिसरा वलीले बताइन् ।
चामल, दाल, नुन, तेललगायत मास्कहरु गरेर साढे ५ लाख बढीको सहयोग गरिएको हो । संघका सचिव वलीले अव वीरेन्द्रनगर नगरपालिकामा पनि संघद्वारा गठन गरिएका समूहमा आवद्धलाई सहयोग गरिने जानकारी दिइन् ।