सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाको उत्तरपश्चिमी क्षेत्र तारेभिरमा दिसाजन्य फोहर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
नगर क्षेत्रबाट सङ्कलित दिसाजन्य फोहरबाट प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र नहुँदा सेफ्टी ट्याङ्कीबाट निस्कने फोहर व्यवस्थापन चुनौती बनेको थियो । दातृ संस्था एसएनभीले नेपालको १७औँ दिसाजन्य लेदो प्रशोधन केन्द्रका रूपमा यसको निर्माण तथा परीक्षण सम्पन्न गरेको हो । एसएनभी नेपालले सफल परीक्षणपश्चात प्रशोधन केन्द्र सञ्चालनका लागि नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सन् २०१६ मा नगरपालिकाले एसएनभी नेपालको समन्वयमा सरसफाइ गुरुयोजना बनाएदेखि प्रशोधन केन्द्र निर्माणको प्रक्रिया थालनी भएको थियो । वीरेन्द्रनगर वडा नं १ को कृष्ण सामुदायिक वन क्षेत्रस्थित ल्याण्डफिल्डसाइटमा रु एक करोड ९७ लाखमा प्रशोधन केन्द्र निर्माण भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अब सेफ्टीट्याङ्कीबाट निकालिने दिसाजन्य लेदोलाई सिधै प्रशोधन केन्द्रमा व्यवस्थापन गरिनेछ । प्रशोधन केन्द्रबाट मिश्रित प्राङ्गारिक मल उत्पादन गरिनेछ भने नकुहिने फोहरलाई नजिकैको ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गरिनेछ । काठमाडौँको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दीपमाला इञ्जीनियरिङ कम्पनीले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी पाएका थिए ।
केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर रहेको छ भने दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २.५ मेट्रिक टन ठोस फोहर प्रशोधन गर्नेछ । एसएनभी नेपालका सुशासन सल्लाहकार मनिमा बुढाथोकीले प्रशोधन केन्द्र आधुनिक प्रविधिको प्रयोग, कम लागत, मर्मतसम्भार गर्न सहज हुनुका साथै वीरेन्द्रनगरले सरसफाइका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दिसाजन्य लेदो व्यवस्थापनका लागि निर्माण गरिएको प्रशोधन केन्द्र नगरपालिकाको महत्वकांक्षी योजना भएको बताए। फोहरलाई मोहर बनाउने हाम्रो सपना पूरा हुँदैछ, यो आयोजनाबाट सरसफाइको क्षेत्रमा महत्वपूर्ण पूर्वाधार खडा भएको छ । सरसफाइ गुरुयोजनाअनुसार अब संरचना निर्माण र फोहरमैला व्यवस्थापनका बाँकी काम पूरा गर्नेछौँ ।
त्यस्तै नगरपालिकाका सरसफाइ फोकल पर्सन प्रकाश पौडेलले फोहर विर्सजनका लागि निश्चित मूल्य निर्धारण गर्ने बताए । प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि एसएनभी नेपालले डिपिआरसमेत तयार पारेको छ । नगरपालिकामा व्यक्तिगत सेफ्टी ट्याङ्कीबाट औसत तीनदेखि पाँच वर्ष र होटल व्यवसायबाट छ महिनामा सेफ्टीट्याङ्की सफा गर्नुपर्ने अवस्था छ । नगरपालिकाले निजी सेवा प्रदायक संस्थासँग समन्वय गरेर प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।
एसएनभीले प्रशोधन केन्द्र सञ्चालनका लागि सेवाप्रदायक कम्पनीका चार तथा नगरपालिकाका तीन जना कर्मचारीलाई प्राविधिक तालिम दिएको छ । प्रशोधन केन्द्रबाट वातावरणीय क्षेत्रमा असर नपरोस् भन्ने उद्देश्यले प्रशोधन केन्द्रमा करिब १५ हजार बिरुवा रोपिएको छ । रासस